नेपाल सरकारको निर्णय: कोरोना कम प्रभाबित क्षेत्रमा लकडाउन खुकुलो

२८ जेष्ठ, नेपालगञ्ज/ कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले नेपालमा जारि राखेको लकडाउनलाई बिहिबार देखी केही खुकुलो हुने गरि ब्यवस्थापन गर्दै जाने निर्णय गरेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने गरि सुरक्षा सावधानी अपनाएर ब्यापार ब्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार  राति १० बजे सकिएको बैठकले लामो समयको लकडाउन पछी जनजीवन सहज पार्नका लागि सवारी साधनलाई पनि जोर बिजोर गतेमा जोर बिजोरका निजि सवारी साधनहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । लकडाउन सम्वन्धी मन्त्रीपरिषदले गरेको निर्णय बिहिबार मात्र सार्वजनिक गरेर  लागु गरिने भएको छ ।

असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय

मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको छ । पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने कारोना प्रकोप ब्यवस्थापन केन्दीय समितिले सरकारलाई सिफारिस गरेको थियो ।

यस्तै,सिफारिसमा रिक्सा तथा एक लहरमा एक जना यात्रुमात्र बस्ने गरी विद्युतीय रिक्सा, ट्याक्सीमा चालक बाहेक थप दुई जना यात्रु रहने गरी चल्न दिने तयारी छ । व्यक्ति व्यक्तिबीचमा कम्तीमा २ मिटर भौतिक दूरी कायम रहने गरी रेस्टुरेन्ट तथा खाजाघर खोल्न तयारी छ ।

१५ दिनसम्म सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, संक्रमण जोखिम विश्लेषण गरी १ सय भन्दा कम सक्रिय COVID-19 केसहरु भएमा अन्तर जिल्ला आवातजावत, सीट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन र आन्तरिक हवाई उडान, होटल, लज रिसोर्ट, परीक्षा प्रयोजनका लागि शिक्षण संस्था लगायतका तालिम, ट्युसन केन्द्र खोल्ने तयारी छ ।

तर  शैक्षिक संस्था, सिनेमा हल, तोकिए अन्तर्राष्ट्रिय सीमाबाट हुने आवातजावत, २५ जनाभन्दा बढी सहभागी हुने भेला, बैठक, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, स्वीमिङ्पुल, जिमखाना, व्यूटी पार्लर, सैलुन, समूहमा खेलिने खेलकुद लगायत अनुकुल समय नहुन्जेल सम्म खुल्ने छैनन् ।