जाजरकोट,म्याग्दी,कास्की र लमजुङमा बाढी र पहिरोमा परेर ठुलो जनधनको क्षती


२६ असार नेपालगञ्ज/  म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना बेपत्ता छन् ।
म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार बाढी र पहिरोमा परेर मालिका गाउँपालिका वडा नम्बर ७, विम्मा ८ जना र धवलागिरी गाउंपालिका वडानम्बर ७, ताकममा २ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार धवलागिरी वडानम्बर ६, मराङमा बाढी र पहिरोमा परेर १२ जना बेपत्ता भएका छन् । मराङमा २० घरधुरी, विम्मा १० घरधुरी र ताकममा ५ घरधुरीमा क्षति पुगेको र मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

त्यसै गरि अविरल वर्षापछि आएको बाढीले बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वर स्थित रघुगंगा खोलाको बेलिब्रिजमा क्षति पुर्याएको छ भने त्यहांको वस्ती जोखिममा परेको छ । यसबाट रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडा तथा अन्नपूर्ण गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङसँगको यातायात सम्पर्क टुटेको छ ।

कास्कीको पोखरा महानगरको सराङकोट

त्यसैगरि कास्कीको पोखरा महानगरको सराङकोट र हेम्जामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने अन्य अरु ८ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडानम्ब १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किँदा आएको पहिरोले टंक बहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

थापाको घर पहिरोमा पर्दा घर मालिक टंक बहादुर थापा सहित निककी श्रीमती सोममाया, २ जना नाती र छिमेकी इशीका थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीका प्रवक्ता नायब उपरिक्षक सुवास हमालले जानकारी दिनुभएको छ ।

कास्कीको पोखरा महानगरको हेम्जामा

बाँकीलाई अन्य भाईतहरुलाई स्थानीय र प्रहरीको संक्रियतामा अस्पताल लगिएको र मणिपाल अस्पतालमा उपचार भइरहेको हमालले जानकारी दिनुभयो ।
बिहिबार राती जन्मदिन मनाउन घरमा अरु पाहुना समेत आएको समयमा पैरो आएकाले घरमा कति जना थिए भन्ने खुल्न सकेको छैन । हराइरहेको आशंकामा प्रहरीले खोजी जारी राखेको छ ।

त्यसैगरी पोखरा २५ हेम्जामा रामचन्द्र अधिकारीको घर पछाडीबाट आएको पहिरोमा परी उहाँकी ७० वर्षीया आमा हिमकला अधिकारीको मृत्यु भएको छ । अर्कातर्फ पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर मृत्यु भएको छ ।

यता जाजरकोट बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा गएराति आएको पहिरोमा परि १२ जना बेपत्ता भएका छन् । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका हुन् । पहिरोमा परेर बेपत्ता हुनेहरुमा ५२ वर्षीय घरमुली गोपाल सार्की, उनकी पत्नि ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की त्यस्तै अर्को घरमुली कलु सार्की, १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् । पहिरोमा परेर पाहुना बस्न आएका कुशे गाउँपालिका ९ चौराँटाका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय बीरेन्द्र सार्की समेत बेपत्ता भएका छन् ।

पहिरोमा परेका मध्ये १ जनाको शव देखिएको तर पहिरोबाट निकाल्न नसकिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताउनु भएको छ ।
प्रहरी घटनास्थल पुगेर बेपत्ताको खोजी गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिनुभएको छ ।

इलाका प्रहरी कार्यालय बारेकोट, प्रहरी चौकी लिम्सा र  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेरम्ब पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ हिँडेको प्रनाउ श्रेष्ठले जानकारी दिनुभएको छ । घटनास्थल आसपासमा फोन नलाग्ने र प्रहरी सञ्चार सेटले काम नगर्ने हुँदा घटनाबारे विस्तृत जानकारी लिन कठिनाई भएको छ ।

बारेकोटका स्थानीयले घटनास्थलबाट २ घण्टा उकालो हिँडी फोन लाग्ने ठाउमा पुगेर घटनाबारे जानकारी गराएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभएको छ । सार्कीगाउँमा गएको पहिरोको कारण बारेकोट गाउँपालिका ४ को वडा कार्यालय भवन र अन्य ४/ ५ वटा घरहरु पनि उच्च जोखिममा रहेको प्रजिअ पन्तले बताउनु भयो ।

सार्कीगाउँमा पहिरो जाने क्रम जारी रहेको उनले बताए । घटनास्थलको भूगोल अप्ठेरो हुँदा, पहिरो खस्ने क्रम जारी रहेको र पानी परिरहेकोले बेपत्ताको खोजी तथा उद्धारमा समस्या भएको  छ ।। बेपत्ताको खोजी तथा उद्धारका लागि दल्लीबाट नेपाली सेना र सदरमुकाम खलंगाबाट सशस्त्र प्रहरीको टोली पनि घटनास्थल तर्फ हिँडेको छ ।

उक्त टोलीलाई घटनास्थल पुग्न ७र८ घण्टा लाग्ने उनले बताए । बेपत्ताको खोजी तथा उद्धारको लागि तालिम प्राप्त सेनाको आवश्यक रहेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभएको छ ।  घटनास्थल सदरमुकाम खलंगादेखि करीब ९० किलोमीटरको दुरीमा रहेको छ । वडा ५ को खर्क तेलचउरेमा रहेका धान खेत पहिरोले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभएको छ ।

लमजुङका एकै परिवारका ३ जनाको मृत्यु भएको

 

उता भारी वर्षासँगै गएराति आएको पहिरोमा पुरिँदा लमजुङका एकै परिवारका ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
लमजुङ जिल्लाको बेसीशहर नगरपालिका वडा नम्बर७, सातविसे स्थित दिपक तामाङको घर बिहिबार राति ११ बजे पहिरोले घर पुरिँदा ३० बर्षका दिपक तामाङ, उनकी २५ बर्षीया श्रीमती विमाया तामाङ र ९ बर्षका छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभएको छ ।
दीपकसँगै काम गर्ने बेंसीसहर नगरपालिका–७ का २६ वर्षीय सन्त बहादुर गुरुङ, बेंसीसहर–१० पांग्रेक्युका २३ वर्षीय अनिल गुरुङ, २३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरुको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भई रहेको छ ।