प्युठानमा ट्याक्टर दुर्घटना: रोल्पाका ७ जनाको मृत्यु

४ साउन भिग्री/ प्युठानमा गएराती ट्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका- ३ भिग्री स्वर्गदवारी सडक खण्डको रुमाले भन्ने ठाउँमा गए राती अन्दाजी १ वजे  लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

उक्त ट्याक्टरमा चालक सहित ८ जना रहेको र १ जना भने हाम फालेर ज्यान जोगाउन सफल भएको र  मृत्यु हुने सबै ७ जना रोल्पाका  रहेका छन ।

मुत्यु हुनेमा रोल्पा रुनटीगढी गाउँपालिका–५ वाइजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिम बहादुर बस्नेत, १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठा मगर, गोर्वधन वाठा मगर, २५ वर्षीय कविराज बस्नेत र ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरिक्षक बिष्णु पौडेलले जानकारी दिनुभएको छ ।

मृत्यु भएकाहरु भिंग्री स्वर्गद्वारी मोटरबाटो स्तरउन्नती गर्ने कामदार हुन् ।  स्वर्गद्वारीतर्फवाट भिङ्ग्री तर्फ आउदै गरेको ट्याक्टर दुर्घटना परेको हो । ट्याक्टर सडकबाट अन्दाजी ४/५ सय मिटर तल झरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभएको छ ।