बाढी र पहिरोको कारण २ दिनमा १४ जनाको मृत्यु, ७ बेपत्ता

८ असोज, नेपालगञ्ज / पछिल्लो २ दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ ।

ठाउँ-ठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।

ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण २ दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ ।

अन्य ७ जना हराइरहेका छन् भने ३ जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिनुभएको छ।

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा १ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् ।

पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा ५ जना बेपत्ता भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

यस्तै धनकुटाको महालक्ष्मीमा पनि १ जनाको मृत्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा १ जना र वालिङ नगरपालिका–१४ मा दुई घर पुरिँदा ९ जनाको मृत्यु भएको केन्द्रका प्रमुख वस्तीले राससलाई बताउनुभएको छ ।

यस्तै बाग्लुङमा पनि विपद्मा परेर १ जनाको ज्यान गएको छ । लगातारको वर्षाका कारण नदी/नालामा बहाव समेत बढ्न थालेको छ ।

अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ ।

यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । बिहीबार राति देशभर सामान्यदेखि पूर्णः मौसम बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । रासस