बाँकेमा कोरोना संक्रमित थप ३ जनाको मृत्यु


२४ कार्तिक, नेपालगञ्ज/ भौगोलिक दृष्टिले पश्चिम नेपाल को द्वार को रुपमा रहेको वाँके जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गरेको छ।

बाँकेमा उपचारका लागि आएका सोमबार साँझ बाहिरी जिल्लाका ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका २ निवासी २९ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारको क्रममा सोमबार दिउँसो १:४५ बजे मृत्यु भएको छ ।
सोमबार बिहान ७ बजे श्वाब संकलन गरिएको र रिपोर्ट आज साँझ ६ बजे मात्र कोभिड-१९ पोजिटिभ पुष्टी भएको थियो।

त्यसैगरी बर्दियाको बाँसगढी नगरपालिका वडा नं ८ का ३५ वर्षिय पुरुषको वेष्टर्न अस्पताल नेपालगञ्जमा उपचारको क्रममा सोमबार राती ८:१५ बजे मृत्यु भएको छ । आईतबार साँझ चोट लागि खुट्टाको जोर्नी खुस्केको अवस्थामा अस्पताल भर्ना भएका उहाँको सोमबार बिहान श्वाब संकलन गरिएकोमा आज साँझ ५ बजे कोभिड-१९ पोजिटिभ पुष्टी भएको हो ।

त्यस्तै दाङ्ग जिल्लाको घोराही उप-महानगरपालिका- १५ निवासी ६४ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा सोमबार राती ९:०९ बजे मृत्यु भएको छ । कार्तिक २३ गते भेरी अस्पताल ल्याइएको र २४ गते बिहान १० बजे कोभिड १९ पोजिटिभ पुष्टी भई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी आवस्यक सम्पूर्ण सपोर्टिभ उपचार गर्दागर्दै पनि श्वास प्रश्वासमा समस्या बढ्दै गएको कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ३२ जना पुगेको कोरोना संकट व्यवस्थापन समितिका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।