अछाममा मोबाईल पड्किँदा १ बालिकाको मुत्यू

फोटो: सांकेतकि घटनाको फाइल फोटो हो ।

१० चैत्र, अछाम/ मोबाइल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा मंगलबार बिहान अछाममा १ जना बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका वडानम्बर १ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।

मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । रासस