नेपालगञ्जमा बैक ठगी प्रकरण: प्रबन्धकलाई ८ वर्ष र सुन ब्यापारी जसगढलाई डेढ बर्ष कैद 

नेपालगञ्ज १२ असार / किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्जको त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही सहित २ जनालाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालत पाटनको फैसला अनुसार प्रबन्धक शाहीलाई १ करोड २५ लाख रुपैयाँ जरिवाना सहित ८ बर्ष कैद र सो घटनाका अर्का अभियुक्त सुन ब्यापारी रिजवान जसगढलाई डेढ बर्ष कैद र बिगो असुलको फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र जसगढ समेत ८ जनालाई प्रतिवादी कायम गरी १४ पुस २०७७ मा विशेष अदालत पाटनमा मुद्दा दायर गरेको थियो।

बाँकेको नेपालगञ्जको त्रिभुवन चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा प्रबन्धक रहेका शाहीसमेतका कर्मचारीले किर्ते कागजातको आधारमा किर्ते धितो मूल्यांकन गरी कर्जा प्रवाह गरेको अभियोजन सहित मुद्दा दर्ता गरिएको थियो।

यसबाट बैकमा सम्पत्तिको हानीनोक्सानी भएको ठहरसहित अख्तियारले छानवीन गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

घटनामा नेपालगञ्ज उप-महानगरपालिका-११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई ऋण लगानी गर्दा बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेको अभियोगमा २०७७ जेठ २७ गते शाही पक्राउ परेका थिए ।

जसगढले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिद लगायतका सरकारी कागजात किर्ते गरेको आरोप थियो ।

शाही र जसगढ सहितको ८ जनामाथि मालपोत कार्यालय, नेपालगञ्ज उप-महानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लगाइएको थियो । अन्य ले भने आफुहरुले थाह नपाएर कागजातमा हस्ताक्षर गरेको बयान दिएका थिए ।

 

सम्बन्धित शीर्षक