५२ लाख ७५ हजार नेपाली नक्कली रुपैया सहित ९ जना पक्राउ

 

नेपालगञ्ज २६ साउन/ नेपाली नक्कली १ हजार दरका  ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न सामान सहित ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा

सिन्धुपाञ्चोक कोठे बस्ने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय शिव भण्डारी,

सिन्धुपाञ्चोक बलेफी गाउँपालिका-७ बस्ने ४० वर्षीय अर्जुन सुबेदी,

सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय मिलन भण्डारी,

सुनकोशी गाउँपालिका-६ बस्ने २४ वर्षीय श्रीकृष्ण भण्डारी,

झापा कमल गाउँपालिका-३ बस्ने २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ बस्ने २१ वर्षीय अर्जुन बुढा,

गुल्मी वाडागाउँ गाउँपालिका-२ बस्ने ३४ वर्षीय सागर आचार्य र

नवलपरासी सरावल गाउँपालिका-१ बस्ने ५३ वर्षीया पार्वती नेपाली रहेका छन् ।

उनीहरूमध्ये अर्जुन सुबेदी उपर चोरी, बैंकिङ कसूर, ठगी तथा ठगी र एक्सटर्सन गरी ७ वटा मुद्दा समेत चलेको खुल्न आएको छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा लुम्बिनीबाट काठमाडौंतर्फ आउँदै गरेको लु. १ प ५ नम्बरको पर्यटक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा ढोका छेउको सामान राख्ने डिक्कीमा र्‍याप गरी राखिएको चाउचाउको कार्टुनभित्र नक्कली एक हजार दरका ३ हजार ५ सय ७३ थान गरी जम्मा ३५ लाख ७३  रूपैयाँ फेला परेको थियो ।

उक्त बसका चालक तथा सह-चालकलाई नियन्त्रणमा लिई थप सोधपुछको क्रममा उक्त कार्टुन लुम्बिनी बसपार्कबाट एक जना मानिसले अचार हो, काठमाडौं लगिदिनु काठमाडौं बसपार्कमा रिसिभ गर्न मानिस आउँछ भनि पठाएको खुल्न आएको छ ।

उक्त घटनापछी थप अनुसन्धानको क्रममा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोंगबु बसपार्क र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बुढाथोकी गाउँबाट थप नक्कली जस्तो देखिने १ हजार दरका १ हजार ७ सय २ थान गरी जम्मा १७ लाख २ हजार रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा कम्प्युटर सेट १ थान, पेपरकटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर १ रिम, खुल्ला पेपर २ सय पेज, विभिन्न रङका मसी,  अ केमिकल प्लाष्टिकको बोतल २ वटा, केमिकल, डेकोरेटिङ पाउडर ४ पत्ता, र्‍यापलिङ टेप १ बण्डल, एक हजार दरको नोटको साईजको पेपर ९ थान, बा.६३ प २०७५ नम्बर, बा.प्र. ०२-०३९प ९४०७ नम्बर, बा.प्र. ०२-०३८ प ५६४२ नम्बरको मोटरसाइकल, बा.प्र.०२-०२८ प १३०६ नम्बरको स्कुटर, मोबाइल १२ थान र अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरू उपर नक्कली मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।