नेपाली र चिनियाँ सेनाबीच हुने सैन्य अभ्यास ‘’परराष्ट्र र सुरक्षा नीति’ मा आधारित “

‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’

काठमाडौ/ नेपाली सेनासँग हुने विशेष फौजको संयुक्त सैन्य अभ्यासमा भाग लिन चिनियाँ जनमुक्ति सेनाको एउटा विशेष टोली शनिबार काठमाडौं आइपुगेको छ । काठमाडौंमा आइतबार सुरु हुने सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङसहित २२ सदस्यीय टोली काठमाडौं आएको हो ।

चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ नेतृत्वको टोली एयर चाइनाको हवाईजहाजबाट शनिबार आएको हो । नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले संयुक्त अभ्यासमा सहभागी हुने चिनियाँ सैनिक टोली शनिबार काठमाडौं आएको बताउनुभयो । प्रवक्ता कडायतले  भन्नुभयो, ‘सैन्य अभ्यासमा दुवै मुलुकका सानो टोली सहभागी हुनेछन् ।’

आइतबार सुरु हुने नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख १२ गते सकिनेछ । नेपाली र चिनियाँ सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यासबाट छिमेकी मुलुक भारत र केही पश्चिमी राष्ट्र नेपालमा चिनियाँ प्रभाव बढ्न सक्ने भन्दै सशंकित हुँदै आएका छन् । नेपाली सेनाले भने चिनियाँ जनमुक्ति सेनासँग हुन लागेको सैन्य अभ्यास ‘नेपालको परराष्ट्र र सुरक्षा नीति’ मा आधारित रहेको टिप्पणी गरेको छ ।

नेपाली सेना र चिनियाँ सेनाबीच हुने सैन्य अभ्यास आतंकवाद सामना गर्ने विषयमा केन्द्रित हुनेछ । विश्वव्यापी सञ्जाल बनाउँदै गएको आतंकवाद र त्यसबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी नेपाली सेनाले पहिलो पटक चिनियाँ सेनासँग आतंकवाद केन्द्रित विशेष फौज संयुक्त सैन्य तालिम गरेको हो ।

नेपाली सेना र चिनियाँ सेनाको संयुक्त सैन्य अभ्यास नेपाली सेनाको विशेष बाहिनीमा हुने स्रोतले बताएको छ । नेपाली सेनाले अभ्यासमा सहभागी हुने नेपाली सैनिकको संख्या सार्वजनिक गरेको छैन ।

नेपाल-चीन विशेष फौज संयुक्त सैन्य अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको छ । नेपाल-चीन संयुक्त सैन्य अभ्यासबारे चीनको रक्षा मन्त्रालयले गत पुस १४ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । नेपाली सेनाले भने बिहीबार विज्ञप्ति जारी गर्दै वैशाख ३ गते नेपाल-चिनियाँ सेनाको संयुक्त सैन्य अभ्यास सुरु हुने औपचारिक घोषणा गरेको थियो । नेपाली सेनासँग पाकिस्तान र बंगलादेशले गर्ने भनिएको संयुक्त सैन्य अभ्यास भने स्थगन भएको छ । नेपाली सेनाले द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासका माध्यमबाट सैन्य कूटनीति सुदृढ पार्दै लैजाने बताउँदै आएको छ ।

सम्बन्धित शीर्षक