सत्ता संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराइयोस-एमाले

१५ असार,नेपालगञ्ज/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन निर्वाचन आयोगसँग माग गरेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित भएको एमालेले चोस्रो चरणको निर्वाचनका क्रममा सत्ताको ब्यापक दुरुपयोग गरेको ठहर गर्दै सत्ता संरक्षित धाँधली भएको जिल्ला नै किटान गरी पुनः मतदानको माग गरेको हो ।

दोस्रो चरणको निर्वाचणमा  अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको छ । अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको छ भने डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको छ । अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको छ

एमाले सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बिज्ञप्ती जारी गरी , ‘पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया दोहो-याइनुले हामीलाई चिन्तित बनाएको छ । यसको घोर भत्सर्ना गर्दै हाम्रो पार्टी त्यसरी सत्ता–संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन माग गर्दछ ।’

एमालेले स्थानीय तहको  दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता र मतदातालाई धन्यवाद ज्ञापन गरेको छ । एमालेले निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकलाई पनि धन्यवाद दिएको छ ।

‘लोकतन्त्रको सबभन्दा महत्वपूर्ण उत्सवका रुपमा रहेको आवधिक निर्वाचन कुनै पनि मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासको पूर्वशर्त हो । अझ स्थानीय तहमा सरकार निर्माण गर्ने यस निर्वाचनले जनताका  समस्या समाधान गर्ने र उनीहरुलाई घरदैलोमा सरकारको अनुभूति दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

डेढ दशकदेखि अवरुद्ध भइरहेको यस प्रक्रियाको नियमितताले जनतालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने र त्यसमार्फत आफ्ना प्रतिनिधि आफैँ छान्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । यस निर्वाचनको सफलताले संविधानसभाबाट जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधान कार्यान्वयनमा ठोस योगदान पुगेको विश्वास पार्टीले लिएको छ,’ बिज्ञप्तीमा भनिएको छ ।

एमालेले आजको निर्वाचनमा प्रदेश २ का जनतालाई बञ्चित गरेकोप्रति भत्र्सना पनि गरेको छ । ‘सत्तारुढ गठबन्धनले प्रदेश नम्बर दुईका जनतालाई यस प्रक्रियाबाट अलग गर्ने जुन हर्कत गरेको छ, यसबाट उनीहरुको लोकतान्त्रिक अधिकार मात्र खोसिएको छैन, संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा नै गम्भीर आघात पु¥याएको छ,’ बिज्ञप्तीमा भनिएको छ ।