कांग्रेसले स्थानीय निर्वाचनका उम्मेद्वार र समानुपातिक सांसदलाई उम्मेदवार नबनाउने

२० असोज,नेपालगञ्ज/ नेपाली कांग्रेसले अहिलेका समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा फेरि समानुपातिक उम्मेदवार नबनाउने भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले मंसिरमा हुने संघ र प्रदेशको चुनावमा २०७० का समानुपातिक सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभएको छ ।  

कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएकालाई पनि प्रतिनिधिसभाको लागि उम्मेदवार नबनाउने भएको छ। शुक्रबारको केन्द्रीय समिति बैठकमा महामन्त्री शशांक कोइरालाले समानुपातिक सांसदलाई फेरि समानुपातिक उम्मेदवार बनाउन नहुने प्रस्ताव गर्नुभएको थियो ।

स्थानीय तहमा आधिकारीक उम्मेदवारविरुद्ध बागी उठेका,बागी उम्मेदवारलाई समर्थन गरेका कांग्रेस नेता/कार्यकर्ताले पनि अब सांसदको टिकट पाउने छैनन्। कांग्रेसले यसअघि नै बागी उठ्नेलाई कारबाही गर्ने निर्णय गरेको थियो।

केन्द्रीय समितिले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको टिकट वितरणका लागि संसदीय बोर्ड बनाउन सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय पनि गरेको छ। पार्टी विधानमा संसदीय बोर्डले नै प्रतिनिधिसभाका सांसद उम्मेदवार चयन गर्नु पर्ने व्यवस्था छ। चुनावमा लोकतान्त्रिक शक्तिहरुबिच तालमेल गरेर जानुपर्ने आवाज पनि केन्द्रीय समितिमा उठेको थियो।

बैठकमा बोल्ने अधिकांस केन्द्रीय सदस्यले एमाले-माओवादी गठबन्धनपछि कांग्रेस आत्तिनु नहुने बताएका थिए। वाम गठबन्धनले कम्युनिष्ट विचारधारालाई बलियो बनाउने भन्दै अब कांग्रेसले लोकतन्त्रलाई बलियो बनाउन लाग्नुपर्ने धारणा धेरैले राखेको पौडेलले बताए।  बैठकले असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभाका उम्मेद्वारको टुंगो लगाइसक्ने निर्णय पनि गरेको छ।

‘पुनसंरचित ठूलो भूगोल सहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही २०७४ आश्विन २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाई सक्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न बरिष्ठ नेता लगायत साथीहरुसँग आवश्यक परामर्श गरि संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गर्दछ।’

 गठबन्धनको सामना गर्छौं- कांग्रेस

त्यसैगरी नेपाली कांग्रेसको पार्टी केन्द्रीय समिति बैठकले माअोवादीको एमालेसँग गठबन्धन गर्ने निर्णयले गत वर्ष नयाँ सत्ता समिकरण बन्दा भएको सहमति तोडिएको ठहर गरेको हो।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति समेत तोकी त्यसलाई आवश्यक पर्ने महत्वपूर्ण कानुनी व्यवस्था सुनिश्चित भैसकेको अवस्थामा हठात माओवादी केन्द्रको एमालेसँग चुनावी तालमेल गर्ने निर्णयलाई हामीले अस्वभाविक रूपमा लिएका छौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘एमाले र माओवादी केन्द्रवीच भएको ६ वुँदे सहमतिले सरकारको वर्तमान गठवन्धन निर्माण गर्दा भएको ३ वुँदे सहमति माओवादी केन्द्रले तोडेको  बैठक ठहर गर्दछ।’

कांग्रेसले संविधान कार्यान्वयन, राष्ष्ट्रिय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई सम्वृद्धि र विकासको मार्गमा अगाडि बढाउने, लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भाव समेतलाई कमजोर पार्नेतर्फ उन्मुख हुँद, नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रूपमा ध्रुवीकरणतर्फ धकेलेको  निष्कर्ष निकालेको छ।

बैठकले विकसित परिस्थितिवाट नेपाली कांग्रेस विचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रकृया र संविधान कार्यान्वयनमा जिम्मेदारीका साथ अगाडि बढ्न प्रतिवद्ध रहेको स्पष्ट पार्न चाहन्छौ।’ ’ विज्ञप्तिमा भनिएको छ,  गत मंगलबार एमाले र माअोवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति सार्वजनिक गरेपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो।