पार्टी एकीकरण जिम्मेवार ढंगले प्रभावकारी कार्यान्वयनमा लैजान एमाले स्थायी कमिटिको निर्णय

२१असोज,नेपालगञ्ज / नेकपा एमालेले माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालसँग प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल र पार्टी एकीकरण गर्ने सहमतिको स्वागत गरेको छ। 

शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने ३ दलको मंगलबारको सहमतिलाई अनुमोदन गर्दै स्वागत गरेको हो।

बैठकले ती सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ। लचिलो र जिम्मेवार ढंगले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमतिलाई कार्यान्वयनमा लैजान प्रभावकारी कदम चाल्ने निर्णय गरिएको पार्टीका सचिव प्रदीप ज्ञवालीले बताउनु भएको छ ।

एमालेले चुनावी तालमेल र पार्टी एकीकरणका लागि गठित ३ दलीय कार्यदललाई आफ्नो जिम्मेवारी छिटो पूरा पनि सचेत गराएको छ। पार्टी एकता संयोजन समिति, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचका लागि प्रत्यक्षतर्फको उम्मेदवारका लागि निर्वाचन क्षेत्र बाँडफाँट कार्यदल र घोषणा पत्र मस्यौदा कार्यदललाई छिटो आफ्नो कार्यसम्पादन गर्न सचेत गराइएको पनि पार्टी सचिव ज्ञवालीले जानकारी दिनु भयो ।

बामदेव गौतम नेतृत्वको संयुक्त कार्यदललाई आईतबारसम्म संयुक्त चुनावी घोषणा पत्र तयारीको काम सम्पन्न गरिसक्नुपर्ने कार्यादेश दिइएको छ भने ईश्वर पोखरेल नेतृत्वको कार्य दललाई चुनावका लागि तीन दलबीच निर्वाचन क्षेत्र बाँडफाँटको जिम्मेवारी दिइएको छ।

त्यसैगरी एमाले स्थायी कमिटी बैठकले चितवन जिल्ला समन्वय समितिको निर्वाचनका लागि पार्टीको तर्फबाट कृष्णकुमार डल्लाकोटीलाई प्रमुख र मुनाकुमारी श्रेष्ठलाई उपप्रमुखमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच चुनावी तालमेल गर्ने र पार्टी एकीकरण गर्ने सहमति गर्नुपरेको बताए।