छानविन समिति प्रति असन्तुष्टि : कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु

९ पुस, कालीकोट/  सरकारले गठन गरेको छानविन समितिप्रति मृतकका आफन्त तथा स्थानिय बासिन्दाले असन्तुष्टि जनाएर आन्दोलन जारी राख्ने जनाएपछी कालीकोट सदरमुकाममा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ। सरकार पक्षका व्यक्तिहरुलाई मात्रै समेटेर छानविन समिति बनाइएको भन्दै उनीहरुले असन्तुष्टि जनाका हुन् । 

आफन्त र स्थानीयवासीले छानविन समितिमा जिल्लाका जनप्रतिनिधिहरुलाई समेत राख्न माग गरेका छन् ।

शुक्रबार देखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आइतबार विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिनुभएको छ ।

प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा स्थिति सामान्य नबनेसम्म अनिश्चितकालीन कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी गैरेले बताउनु भएको छ ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

घटनाबारे छानविन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा। मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ । मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरिसकेको छ ।

सम्बन्धित शीर्षक