म्याग्दीको बेग खोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर कैलालीका २ जना मजदुरको मुत्यू

२५ पुस,बेनी/ म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर १ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ २ जना मजदुरको मुत्यू भएको छ ।

निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर दुई जना कामदार खसेका थिए । निर्माणधिन पुलको तल व्यास हालेपनि दायाँ र बायाँतर्फ तार लगाउने काम नसकिएको र सोही तार नभएको ठाउँमा झुक्कीएर दुई जना खसेको पुलमा कार्यरत अन्य कामदारहरुले बताएका छन् ।  

निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका ५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका ४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिल बहादुर फगामीले जानकारी दिनुभएको छ।
वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो मध्यको लामो झोलुंगे पुल ३ महिना देखि निर्माणाधीन अवस्थामा रहेको छ ।

पुलबाट खसेका दुबै जनाको शव सोही निर्माणधिन पुलको करिब १५० मिटर तलको खोचमा  भेटिएको रघुगंगा गाउँपालिका वडा नम्वर १ वडाअध्यक्ष बिलबहादुर फगामीले जानकारी दिनुभएको छ।

३ सय ६५ दशमल ८० मिटर लामो उक्त नेपालकै लामो निर्माणधिन झोलुङ्गे पुलको अग्लाई करिब १५० मिटर रहेको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको समयमा दुखत दुर्घटना भएको हो ।