बाजागाजा साथ उम्मेदवारी दर्ता गराउन हिँडेका गुरु जीको ‘टिकट गायब’

१६ कात्तिक,काठमाडौं / एक हातमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झन्डा र अर्को हातमा नेकपा माओवादीको ‘गोलो घेराभित्रको हँसिया हथौडा’ अंकित झन्डा बोकेको जुलुस बिजुलीबजारबाट थापागाउँतर्फ बाटो लाग्दै थियो।

मौसमले चिसोको पारो ओह्रालो झारिरहेको बेला चुनावले राजनीतिको पारो उकालो चढाइरहेको बेला यो दृश्य देख्नेले सहजै अनुमान लाउन सक्थ्यो- यो एमाले र माओवादीको वाम गठबन्धनको जुलुस हो। जुलुसको अग्रभागमा बाजा बजाउने र नाच्नेहरु थिए भने त्यसपछि ब्यानर बोकेका र साथमा गालामा माला भिरेका सफाचट नेता। 

बिहीबारको यो जुलुस देख्नेले अर्को अनुमान लगाउन सक्थे उम्मेदवारी दर्ता गर्ने ठाउँसम्म यो जुलुस जान्छ। देशका ४५ जिल्लाका सदरमुकाम र निर्वाचन क्षेत्र रहेका शहरमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मनोनयन दर्ता भएकोले यस्तै दृश्य जो देखिएको थियो।

बिहीबार दिउँसो सवा १ बजेतिर बिजुली बजार स्थित पञ्चेश्वर बहुद्येशीय परियोजनाको कार्यालयमा खडा गरिएको निर्वाचन आयोगको काठमाडौं क्षेत्र नम्बर ५ को मनोनयन दर्ता गर्ने कोठामा पुग्दा एक जना माला पहिरिएका व्यक्ति बेचैनीका साथ टाउको कन्याइरहेका थिए।

उनी तनावमा देखिन्थे भने उनलाई केहीले ‘टेन्सन नलिनुस् दाइ, मिलाउने कोशिस गरिरहेका छौं…’, भनेर सान्त्वना दिइरहेका थिए। अलि पर रहेको क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत चाणक मणि अर्यालको सामुन्नेको सोफामा गलाभरी माला लगाएर बसिरहेका थिए एमालेका क्षेत्र नम्बर ५ का उम्मेदवार- महासचिव ईश्वर पोखरेल।

पोखरेल त्यहाँ हुनुले संकेत गरिरहेको थियो त्यो समय वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गर्ने थियो। किनकी, निर्वाचन आयोगले राजनीतिक दलहरुलाई पालो- पालो गरी उम्मेदवारी दर्ता गर्न समय तोकेको थियो। गलामा एकमात्र माला भिरेका, शिरमा कालो टोपी र आँखामा चश्मा लगाएका ती नेता थिए- एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य श्याम घिमिरे।

उनी त्यसरी नै बिजुली बजारमा रहेको उक्त कार्यालय पुगेका थिए जसरी अरु उम्मेदवार आइरहेका थिए ताम-झामसहित। एमालेले बुधबार उनको नाम क्षेत्र नम्बर ७ को प्रदेशसभा सदस्य ‘ख’को उम्मेदवारका रुपमा तय गरेको खबर उनीकहाँ पुगेको थियो। सोही अनुरुप उनी बिहीबार बिहानै घरबाट सगुन गरेर, माला भिरेर अगुवा कार्यकर्ताका साथ बिजुलीबजार पुगेका थिए। उनलाई ‘टेन्सन नलिन’ आग्रह गरिरहेका कार्यकर्ताका अनुसार घिमिरे उम्मेदवार बनेर घरबाट निस्केका थिए।

नाम उल्लेख गर्न नमानेका उनले भने, ‘बिहानसम्म उहाँ नै भनेर माला लगाएर बाजा बजाएर आएका हौं, यहाँ आउँदा टिकट अर्कैले पाएको थाहा भयो।’ घिमिरेलाई ‘गुरु’ मान्ने उनी पनि बेचैन थिए। घिमिरे उम्मेदवार बन्ने भनेको क्षेत्र नम्बर ७ को प्रदेश ‘ख’मा प्रकाश श्रेष्ठ वाम गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार बनेका छन्।

श्रेष्ठले क्षेत्र नम्बर ७ का वाम गठबन्धनबाट एमालेका उम्मेदवार रामवीर मानन्धरसँगै आएर उम्मेदवारी दर्ता गराइसकेका थिए। जबकी उम्मेदवारी दर्ता गराउन भनेर हिँडेका घिमिरे बल्ल निर्वाचन कार्यालय पुगेका थिए। उक्त क्षेत्रका कार्यकर्ता घिमिरेलाई एकदिन अगाडि उम्मेदवार हुन भन्ने र दोस्रोदिन श्रेष्ठलाई उम्मेदवारी दर्ता गराउनुलाई ‘बीचमा चलखेल भएको’रुपमा अर्थ्याइरहेका थिए।

क्षेत्र नम्बर ७ को उम्मेदवारी दर्ता गर्ने कोठा अर्कै भए पनि पार्टी महासचिव पोखरेलले समस्या सुल्झाउन केही गर्छन् कि भन्ने आशले क्षेत्र नम्बर ५ को दर्ता गर्ने कोठमा बसेका थिए। सायद उक्त गडबडबारे पोखरेल जानकार थिए। पोखरेलले उम्मेदवारी दर्ता गरिसकेपछि पत्रकारहरुलाई भन्दै थिए, ‘केही असन्तुष्टीहरु छन् तिनलाई चुनावपछि सम्बोधन गरिनेछ।’ उनी ‘संवादको कमीले समस्या सिर्जना भएको’ भन्दै गठबन्धन भित्रका कार्यकर्ताले अन्यथा नमान्नुपर्ने भनिरहेका थिए।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका रामवीर मानन्धर पनि तनावमा नै थिए। उनी असन्तुष्टहरुलाई ‘किप क्वाइट’ भनेर सम्झाइरहेका थिए। त्यसो भन्नुको कारण उनी खोल्दैथिए, ‘टेलिभिजनले भन्छ, न्यूजले भन्छ त्यसैले अहिले चुप लागौं।’ तर, घिमिरेलाई उम्मेदवार बनाएर ल्याएका युवाहरु भने मानिरहेका थिएनन्।

उनीहरु भनिरहेका थिए, ‘उहाँ हाम्रो क्षेत्रको गुरु हो, यसरी अपमान हुने भए हामी किन यो पार्टीमा बस्ने? हामी आफ्नो किसिमले अगाडि बढ्छौं।’ रामवीरलाई उनीहरुको विकल्प थियो- आज घिमिरेले पनि उम्मेदवारी दर्ता गर्छन्, ४८ घण्टा छ उम्मेदवारी फिर्ता लिन त्यतिबेला पार्टीभित्र छलफल गरेर कुरा मिलाउँला। त्यसो भन्नेलाई रामवीरको जवाफ थियो, ‘ठण्डा दिमागले सोच्नुस्।’ एमाले महासचिव पोखरेल लगायत आधिकारीक उम्मेदवारहरु मनोनयन दर्ता गरेर बाहिरिएपछि घिमिरे स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने प्रक्रियामा थिए। उनी कार्यालय परिसरमा यताउता गरिरहेका थिए। अपराह्न ४ बजे कार्यालयबाट बाहिरिदा पनि उनी उस्तै बेचैनीसाथ निर्वाचन कार्यालयको परिसरमै थिए।