खानेपानी संस्थान नेपालगञ्जले पाइप खरीद गरे पनि आयोजना अलमलमा : अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

१६ जेठ, बाँके /  राप्ती खानेपानी आयोजनाका लागि पाइप खरीद भएको डेढ वर्ष बिते पनि अहिलेसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन । नेपाल खानेपानी संस्थान नेपालगञ्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक वर्ष २०७३/७४ को अन्त्यतिर पाइप खरीद गर्न बोलपत्र आह्वान गरेको थियो ।

पाइप खरीद गरेको लामो समय बित्दासमेत उक्त आयोजनाको काम अगाडि नबढेको नेपाल खानेपानी संस्थान, नेपालगञ्जका प्रमुख इञ्जिनीयर आशिष कार्कीले बताउनुभयो । संस्थानले राप्ती नदीको सिधनिया पुल नजिक सम्पवेलमार्फत राप्ती नदीको पानी तानेर नेपालगञ्ज ल्याउने योजना बनाएको छ ।

नेपालगञ्ज र बुटवलका लागि रु २५–२५ करोडको पाइप खरीद गरेको देखाइए पनि भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगञ्ज भन्सारबाट रु १२ करोड र भैरहवा भन्सारबाट रु १३ करोडको सामान आयात गरेको देखिन्छ । उक्त आयोजनाका लागि आर्थिक वर्ष २०७४/७५ मा राप्ती नदीबाट खानेपानी आपूर्ति गर्न पाइप तथा फिटिङ सामान खरीद गर्न रु २८ करोड ४८ लाख ६३ हजार विनियोजन गरिएको थियो ।

निर्माण गर्न बुटवलका लागि रु २६ करोड २४ लाख र राप्तीका लागि रु २५ करोड ७६ लाख लागत तय गरिएको थियो । भूमिगत जलस्रोतबाट नेपालगञ्जमा खानेपानीको आपूर्ति गर्दै आएको संस्थानले दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न नयाँ योजना ल्याएको जनाएको छ । राप्ती नदी किनारमा इन्टेक बनाएर नेपालगञ्जको फुल्टेक्रास्थित नेपाली सेनाको ब्यारेकबाट सुर्जी गाउँ तर्फ सहायक लाइन विस्तार गरिने भएको छ ।

“सहायक लाइनलाई सुर्खेतरोडमा जोडेर नेपालगञ्ज उपमहानगरपालिका–२०, मनिकापुरमा पानी वितरण गर्ने योजना छ”, कार्कीले भन्नुभयो । त्यस्तै राप्ती नदीबाट संस्थानको कार्यालयमा भएको ट्याङ्कीमा पानी ल्याउने योजना छ । सोह्र किलोमिटर मुख्य पाइप लाइनबाट नेपालगञ्जमा रहेको संस्थानको मुख्य ट्याङ्कीमा पानी ल्याउने योजना संस्थानको छ ।

“हातेपम्प, , डिप-बोरिङ, इनारलगायतका माध्यमबाट उपलब्ध खानेपानीलाई विस्थापित गर्न नयाँ योजना ल्याइएको हो”, उहाँले भन्नुभयो । राप्ती नदीबाट राप्तीपथ हुँदै नेपालगञ्जसम्म २० इन्च पाइपबाट खानेपानीको मुख्य लाइन विस्तार गर्ने योजना छ । राप्ती नदीबाट ल्याइने पानी नेपालगञ्जमा रहेको खानेपानी ट्याङ्कीमा ल्याउने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको छ ।

अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

पाइप खरीदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारमा उजुरी परेपछि आव २०७४/७५ मा आयोजनाको काम अघि बढ्न नसकेको कार्यालय प्रमुख कार्कीले बताउनुभयो । उहाँले अख्तियारबाट ‘क्लिनचिट’ आइसकेको बताउँदै योजनाको काम अघि बढाउने तयारी भएको बताउनुभयो ।

उहाँले हिराचन मल्ल कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको बताउँदै सम्झौता हुन बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार, हिराचन कन्स्ट्रक्सनले रु दुई करोड २५ लाखमा निर्माण गर्न ठेक्का सकार गरेको छ । “सम्झौता भएको ११ महीनामा काम सक्नेगरी ठेक्का सकार भएको छ”, उहाँले भन्नुभयो ।

२८ हजार घरधुरीलाई खानेपानी पु-याउने योजना

संस्थानले नेपालगञ्ज उपमहानगरपालिकाका २८ हजार २०४ घरधुरीलाई पानी वितरण गर्ने योजना बनाएको छ । यसका लागि उसले दैनिक साढे दुई करोड लिटर पानी नेपालगञ्ज ल्याउने भएको छ । संस्थानले हाल नेपालगञ्ज उपमहानगरपालिकाका चार हजार ६०० घरधुरीलाई दैनिक ४० लिटर पानी वितरण गर्दै आएको कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो । उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको हालको जनसङ्ख्यालाई हेरेर नयाँ योजना ल्याएको बताउनुभयो ।

संस्थानलाई आर्थिकभार कम

राप्ती नदीबाट पानी ल्याए संस्थानलाई फाइदा हुने भएको छ । कार्कीका अनुसार संस्थानले हाल चार बोरिङमार्फत पानी तानेर नेपालगञ्जवासीलाई वितरण गर्दै आएको छ । विद्युत्को सहायताले बोरिङबाट पानी तान्दा महङ्गो पर्ने उहाँले बताउनुभयो ।

राप्ती नदीबाट खानेपानी ल्याउने हो भने विद्युत् महसुल जोगिने उहाँको भनाइ छ । उहाँले चार बोरिङको विद्युत् महसुल कम्तीमा रु दुई लाख ४० हजार आउने गरेको संस्थानले जनाएको छ । “विद्युत् महसुल कम भयो भने संस्थानलाई आर्थिक भार कम हुनेछ”, उहाँले भन्नुभयो ।

वर्षातको समयमा पानी खान नमिल्ने

सम्पवेल प्रविधि सफल भएमात्र वर्षभरि नै राप्ती नदीको पानी खान योग्य हुने संस्थानले जनाएको छ । सम्पवेल सफल नभए राप्ती नदीको पानी पाइपमार्फत सिधै नेपालगञ्ज ल्याउने योजना छ । पहिलो विकल्पको रुपमा सम्पवेल प्रविधिलाई राखिएको छ ।

कार्यालय प्रमुख कार्कीले यो प्रविधि सफल नभए पाइपमार्फत राप्ती नदीको पानी सिधै नेपालगञ्ज ल्याइने बताउनुभयो । “राप्ती नदीमा बाढी आएको बेला र पानी धमिलो भएमा पानी नेपालगञ्ज ल्याउन मिल्दैन”, कार्कीले भन्नुभयो, “उक्त समयमा नेपालगञ्जको बोरिङबाट पानी तानेर खानेपानी वितरण गरिनेछ ।”

यो योजना सम्पन्न भएपछि दैनिक दुई करोड लिटर पानी सहज उपलब्ध हुने कार्कीले बताउनुभयो । संस्थानबाट मात्र नेपालगञ्जमा अहिले ३६ लाख लिटर पानी प्रतिदिन उपयोग भइरहेको छ । नेपालगञ्जमा करीब पाँच हजार परिवारले संस्थानबाट खानेपानीको सेवा लिइरहेका छन् ।