नेपालगञ्जको मौरीबाट जुवाडे र दर्शक सहित १४ जना को-को समातिए ?

 

नेपालगञ्ज २३ असोज/ बाँके प्रहरीले गएको बिहिबार राति १ बजे नेपालगञ्जको बसपार्क स्थित बाइपास रोडमा रहेको मौरी होटलबाट करिब १३ लाख ६३ हजार ८ सय रुपैयाँसहित १४ जनालाई नियन्त्रणमा लिएको छ।

बाँके प्रहरी उच्च स्रोतका अनुसार बिहिबार राति १ बजे मौरी होटलमा चाडपर्वको समयमा नेपालीहरूले खेल्ने गरेको जुवा लम्बिँदै जाँदा बिहिबार राति पनि जुवा जारी रहेको भन्ने सूचनाको आधारमा बाँके प्रहरीले उक्त ठाउँमा रहेको जुवाको खालमा छापा मारेको हो। जुवाको खालमा दर्शक तथा खेलाडी गरी १४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा नेपाल तथा भारतका केही जुवाडेहरू र उक्त जुवाको सूचना लिन पुगेका १ जना जुनियर प्रहरी अधिकृत र १ जना स्थानीय सुदन दाहाल समेत रहेको घटनास्थलबाट स्थानिय स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिक भारत बहराइच निवासी नन्दलाल यादव, सिराज अन्सारी, ऋषि गुप्ता, भागीरथ यादव, मोहम्मद सफिक त्यसैगरी संगम शाह, मेघराज गौतम, रामेश्वर शाही, गणेश बस्नेत, विज्ञान श्रेष्ठ, सुदन दाहाल र अरुण गौतम रहेका छन्।

नेपालगञ्जमा रहेका विभिन्न मिनि क्यासिनोहरूमा चाडपर्वको समयमा अवैध रूपमा ठुल-ठुला जुवाहरु हुने गरेकोमा केही भारतीय खेलाडीहरु बाहिर नै जुवा खेल्न थालेपछि क्यासिनोमा घाटा भएर अन्यत्र लगानी गर्न समेत क्यासिनो सञ्चालकहरुलाई धौ-धौ पर्न थालेपछि बसपार्क बाइपास रोडमा रहेको मौरी होटलमा सञ्चालन हुँदै आएको जुवाखालमा बिहिबार राति बाँके प्रहरीले छापा मारेको प्रहरी स्रोतले जनाएको छ ।

विशेषगरी नेपाल भारत सिमा क्षेत्रका विभिन्न जिल्ला स्थित शहरहरूमा भारतबाट नेपाल आएर यस अघि पनि जुवा खेल्ने गरेकोमा हाल बाँकेका विभिन्न ठाउँमा यसैगरी युवा सञ्चालन भइरहेको स्रोतले जनाएको छ ।

बाँके प्रहरीले वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै त्यसतर्फ ध्यान दिन नसकेको अवस्थामा प्रहरीको माथिल्लो निर्देशनको समेत आधारमा बाँके प्रहरीले छापा मार्न पुगेको प्रहरी स्रोतको दाबी रहेको छ।

पक्राउ परेका १४ जनामध्ये बिहिबार राति नै प्रारम्भिक घटनास्थल मुचुल्का गरी बाँके प्रहरीले नयाँ भवनमा रहेको हिरासत कक्षमा राखी प्रारम्भिक अनुसन्धान गरिरहेको बाँके प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेका मध्ये कति दर्शक र कति खेलाडी भन्ने विषयमा छानबिन तथा अनुसन्धान भइरहेको र त्यसमा जुवामा संलग्न खेलाडीहरुलाई अन्तर्गत कानुनी कारबाही गरिने बाँके प्रहरी स्रोतले जनाएको छ।

कानुनी ब्यवस्था के छ ?

जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे २ सय रुपैयाँ जरिबाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

तर पछी २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई बढीमा ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था रहेको छ। दोस्रो पटकमा बढीमा १ वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेकाको हकमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था पनि रहेको छ।

तर स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) वमोजिम स्थानिय सरकारहरुले स्थानिय राजपत्रमा सूचना जारी गरेर जुवा/तास नियन्त्रण तथा नियमन ऐन छुटटै लागु गर्ने अधिकार दिईएको छ । बांकेका अधिकांस स्थानिय सरकारहरुले उक्त ऐन नियम कार्यन्वयनमा ल्याएको देखिदैन ।