नेपालगञ्जमा कर कार्यालय चुप-चाप : जुम्लाका ट्यूशन सेन्टर कारवाहीमा

११ माघ, जुम्ला/ आन्तरिक राजश्व कार्यालयको कर्णालीको सदरमुकाम जुम्ला स्थित करदाता सेवा कार्यालयले स्थायी लेखा नम्बर नलिइ सञ्चालन गरिरहेका ट्यूशन सेन्टरलाई करको दायरामा नआएको भन्दै कारवाही गरेको छ ।

जुम्लाको खलंगा र चन्दननाथ बजारमा सञ्चालन गरिरहेका ट्यूशन सेन्टरले स्थायी लेखा नम्बर नलिइ सेवा सञ्चालन गरी कर छलेको भन्दै डाइनामिक ट्यूशन सेन्टरलाई २० हजार रुपैयाँ, ब्राइट फ्यूचर टयूशन सेन्टरलाई ५ हजार रुपैयाँ, र न्यू भिजन ट्यूशन सेन्टरलाई ५ हजार रुपैयाँ कारवाही गरिएको करदाता सेवा कार्यालय जुम्लाका कर अधिकत खडानन्द खत्रीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार जिल्लामा स्थायी लेखा नम्बर नभएका डाइनामिक ट्यूशन सेन्टर, न्यू भिजन ट्यूशन सेन्टर, ब्राइट फ्यूचर ट्यूशन सेन्टर, चन्दननाथ कोचिङ सेन्टरहरुमा अनुगमन गरेर कारवाही गरिएको थियो ।
अनुगमनपछि समितिले गरेका निर्णहरुमा ट्यूशन सेन्टरले एक साता भित्र स्थायी लेखा नम्बर अनिवार्य लिइ सक्नुपर्ने र स्थायी लेखा नम्बर नलिइ ट्यूशन राख्ने सबै ट्यूशन सेन्टरका लेखा रजिष्ट्रर समेत जफत गर्ने निर्णय गरिएको करदाता कार्यालयले जनाएको छ ।

नेपालगञ्जमा भने नेपाल सरकारको मापदण्ड बिपरित बिभिन्न स्वास्थ्य संस्था, कलेज, बिभिन्न इनस्टिच्यूट कोचिंग तथा टयूसन सेन्टरहरु सञ्चालन भईरहदा पनि नियमनकारी निकायहरु मौन रहनुमा सम्वन्धीत निकाय प्रति बिभिन्न् आशंकाहरु उब्जाउने गरीएको छ ।