बेलायती सेनाध्यक्ष स्वदेश फिर्ता, भारतिय सेना प्रमुख नेपाल भ्रमणमा

१ फागुन, नेपालगञ्ज/ नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपालको ६ दिने औपचारिक भ्रमणका लागि आउनुभएका संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष जनरल सर निकोलस प्याट्रिक सोमबार बेलायत फर्कनुभएको छ ।

नेपाल भ्रमणको क्रममा उहाँले प्रधानसेनापति क्षेत्रीसँग भेटवार्ता गर्नुभयो । प्याट्रिक पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजना भएको गोर्खा एटेस्टेसन परेड–२०१८ मा समेत सहभागी हुनु भएको थियो ।

सुगौली सन्धिपश्चात नेपालीहरु बेलायती सेनामा भर्ना हुन थालेको परिपेक्ष्यमा यस प्रकारको परेड नेपालमा विगतदेखि नै भइरहेको र सो अवसरमा सहभागी हुन मित्रराष्ट्र बेलायतका माननीय मन्त्रीहरु लगायत उच्च पदस्थ पदाधिकारीहरु नेपाल आउने प्रचलन रहेको छ ।

त्यसैगरी प्रधानसेनापति राजेन्द्र क्षत्रीकै निमन्त्रणामा आज मंगलबार हुने नेपाली सेनाको स्थपना दिवस एवम शिवरात्रीको अवसरमा नेपाली सेनाले आयोजना गर्ने बिशेष कार्यक्रमको अतिथिको रुपमा भारतीय सेना प्रमुख बिपिन रावत २ दिने भ्रमणमा नेपाल आउनु भएको छ ।