५ जना अपहरित भारतीय नागरिक सकुशल रिहा: भारतिय अपहरणकारी भारतमै फरार, घटनामा सहयोग गरेको अभियोगमा ५ जना नेपाली पक्राउ

 

सुमन तिमल्सिना
१ फागुन,मोरङ/ ५ जना सर्वसाधरण भारतीय नागरिकलाई अपहरण गर्न सघाउने ५ जनालाई नेपाली नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनीक गरेको छ ।

घरमा पूजा छ भन्दै नेपाल ल्याएर मोरङको सून्दर हरैचा नगरपालिकाको मोनालिसा होटलमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले अपहरणमा परेकालाई उद्दार गरेको जनाएको छ ।

प्रहरीले अपहरणमा सघाउने ५ जना नेपालीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । ५ जना अन्य मुख्य अपहरणकारी भने भारतमै फरार रहेका छन ।

गएको माघ २४ गते भारतको उत्तरप्रदेशकको खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने राजकिशोर साह, अजयकुमार साह, अखिलेश साह, दिनबन्दु तिवारी र रञ्जितकुमार अपहरणमा परेका थिए ।

‘फारबिसगन्जका बालेश्वर शाह(रजक) ले आफ्नो घर नेपालमा पनि रहेकाले पूजापाठ गराउन दिनबन्धु तिवारीलाई बोलाएका थिए,’ अपहरण मुक्त भएका अजयले भने, ‘बालेश्वरसँग पहिलादेखि भेटघाट हुन्थ्यो । पूजामा सहभागी हुननिम्ता दिएपछि हामी सबै उनलाई भेट्न गयौं ।’

बालेश्वर शाहले नेपालमा रहेको आफ्नो घरमा पूजा रहेको र नेपाल घुमाउने भन्दै पण्डित दिनबन्धु तिवारी लगायत अन्य ५ जनालाई जोगबनीबाट गाडी रिजर्ब गरी राति सून्दर-हरैचा नगरपालिका–१०, मा रहेको मोनालिसा होटलमा पुर्‍याएका थिए ।

प्रहरीका अनुसार २५ गते बिहान बालेश्वर शाह लगायतका ५ जनाले अपहरित भारतीय नागरिकलाई होटलमा बसेका ५ जना नेपालीको जिम्मा लगाएका थिए ।

होटेलमा सुनसरी जिल्ला इनरूवा नगरपालिका–३, का नारायण शाह, मधुकर शाह, मोरङ सून्दरहरैचा नगरपालिका–१, का टिकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरूङ, सून्दरहरैचा–१२, बस्ने नवराज गौतमलाई भारतबाट ल्याइएका पण्डित दिनबन्धु तिवारी लगायत अन्य ५ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले अपहरणमा परेका भारतीय नागरिकसँग होटलमा बन्धक बनाई ६ लाख भारतीय रूपैयाँ फिरौती रकम माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

अपहरणमा परेका जना राजकिशोर साह माघ २५ गते दिउँसो होटलबाट भाग्न सफल भएपछि यो घटना बाहिर आएको प्रहरीले जनाएको छ । भागेका राजकिशोर भारत गएर अन्य साथीहरूलाई लिएर प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयमा आएपछि अनुसन्धान थालेको बिसीले बताउनुभयो ।

अपहरणकारी मध्येका नवराज गौतमले बेलबारी–६, बस्ने ढोडियालाल चौधरी थारूलाई को १४ प ५२४४ नम्बरको मोटरसाइकलमा भारतको जोगबनी पुगेर भारतीय एक लाख रूपैयाँ फिरौती लिएर बालेश्चर रजक र रञ्जित कुमारलाई छुटाएको समेत अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

होटेलमा रहेको बेला राजकिशोर अपहरणकारीबाट भागेपछि अपहरणकारीले अजयकुमार साह, अखिलेश साह, दिनबन्दु तिवारीलाई सून्दरहरैचा–९, मा रहेको नारायण साहको कोठामा लगेर बन्धक बनाएका थिए । प्रहरीका अनुसार एकजना होटलबाट भागेपछि असुरक्षित महसुस गरेर अपहरणकारीले ठाउँ परिवर्तन गरेको बताएका छन् ।

बन्धक बनाएको अवस्थामा ५ लाख भारतीय रूपयाँ फिरौती मागेकोमा अखिलेश शाहले ५ लाख रुपैयाँको चेक दिँदा अपहरणकारीले चेक लिन नमानेको प्रहरीले जनाएको छ । शारिरीक तथा मानसिक यातना दिएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरीका बेलबारीबाट खटिएको प्रहरी टोलीले माघ २७ गते राति बन्धक बनेकाको उद्दार गरेको थियो ।

सून्दरहरैचा–९, का नारायण शाहको घरबाट सकुसल अपहरण मुक्त गरी अपहरणमा संलग्न नारायण शाह, मधुकर शाह, टिकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरुङ र नवराज गौतमलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो । प्रहरीले पक्राउ पेरका सबैलाई सोमबार सार्वजनीक गरेको हो ।

पक्राउ परेका अपहरणकारीको साथबाट भारतीय ५० हजार रुपैयाँ, ५ थान मोवाइल र को १४ प ५२४४ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । अपहरणको क्रममा नेपालमा सहयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको भए पनि भारतबाट अपहरण गर्ने ५ जनाको गिरोह भने अहिले फरार छ । उनीहरुको भारतीय प्रहरीसँगको सहकार्यमा खोजी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो ।

नेपाल भारत सिमा क्षेमा दुवै तर्फबाट समाजिक अपराधीहरुको मिलेमतोमा बिभिन्न् क्षेत्रका नागरिक अपहरण गर्ने क्रम प्रहरी सक्रियताका कारण केही समय रोकीएकोमा उक्त घटनाले फेरी फिरौती घटना बढल सक्ने देखाएको छ ।