नेपालमा चिकित्सा क्षेत्रमा लापरबाही : देब्रे सोचेर गरेको दाहिने गोडा पो परेछ !

१३ फागुन, काठमाडौं/  चितवन भरतपुरकी विन्दु पौडेल दाहिने गोडामा दुखाइ बढेपछि स्थानीय अस्पताल पुगिन्। चिकित्सकले एमआरआई गरे। घुँडाको लिगामेन्ट च्यातिएको रिपोर्ट आयो। तर, थप उपचारका लागि त्यहाँका डाक्टरले काठमाडौं रिफर गरिदिए।

चितवनका चिकित्सकले भनेअनुसार उनी परिवारका सदस्यसहित थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगिन्। चितवनकै एमआरआई रिपोर्ट हेरेका नर्भिकका चिकित्सकले अप्रेसन गर्नुपर्ने बताए। विन्दु अप्रेसनका लागि शुक्रबारै भर्ना भइन्। अर्थोपेडिक डा‍। प्रवीण नेपाल र डा। शैलेज रञ्जितकारको टोलीले अप्रेसन गर्ने तय भयो ।

बिरामीका आफन्त बाहिर बसे, डाक्टरद्वयले भित्र अप्रेसन थाले । केही घन्टापछि आफन्तलाई खबर आयो, अप्रेसन सफलतापूर्वक सकियो । थिएटरबाहिरको वातावरण उज्यालो बन्यो । तर, बिरामीलाई तत्काल भेट्न दिइएन । जब विन्दुलाई भेट्न आफन्तले अनुमति पाए, तब खुसीको पाइला लम्काए। तर, देब्रे गोडाको अप्रेसन गर्न ल्याएको बिरामीको दाहिने गोडा चिरेको देखेपछि आफन्त छाँगाबाट खसेझैँ भए।

सुरुमा सुन्नै चाहेनन्, पछि स्विकारे बिरामीका परिवारले तत्काल अस्पताल प्रशासनमा आपत्ति जनाए। तर, पीडितका कुरा प्रशासनले सुन्न चाहेन । ‘गलत अप्रेसन भएको जानकारी गराउँदा प्रशासनले स्विकारेन,’ विन्दुका श्रीमान् किशोर पौडेलले भने, ‘अप्रेसन गर्ने डा. नेपालले पनि गल्ती नभएको बताए।’ पीडित र अस्पताल प्रशासनबीच लामै विवाद चल्यो।

‘अन्ततः डा. नेपालले गल्ती स्विकारे, प्रशासन पनि गल्यो,’ किशोरले भने। नर्भिकले गल्ती स्विकार्दै पीडित पक्षसँग लिखित रूपमै विभिन्न सहमति गरेको छ। डा। नेपालले गल्ती स्विकार्दै भनेका छन्, ‘अप्रेसनका बेला भ्रममा परेछु, देब्रे सोचेर अप्रेसन गरेको दाहिने पर्न गएछ, पछि मात्रै थाहा पाएँ।’

पीडित र अस्पतालबीच सहमति विन्दुको देब्रे गोडाको अप्रेसन गर्नुपर्नेमा दाहिने गोडाको गरेको विषयमा नर्भिकले लिखित रूपमै गल्ती स्वीकार गरेको छ। पीडित पक्ष र अस्पतालबीच भएको सहमतिमा गल्ती स्विकारेको स्पष्ट छ। सहमतिपत्रमा भनिएको छ, ‘मानवीय त्रुटिका कारण दाहिने घुँडाको अप्रेसन हुन गएको तथ्य हामी उपचारमा संलग्न चिकित्सक प्रवीण नेपाल र शैलेज रञ्जितकार तथा नर्भिक हस्पिटल स्वीकार गर्दछौँ।’ राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट नयापत्रिकामा समाचार छ ।