प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : पाँचवटा दल राष्ट्रिय पार्टी बन्दै

 २८ मंसिर/ आगामी संसदमा पाँच वटा राजनीतिक दल राष्ट्रिय पार्टीका रुपमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ । समानुपातिक तर्फको मतगणना पूरा सकिएको छैन ।  बिहीबार दिउँसोसम्म करीब ७०  प्रतिशत गणना सकिएको छ ।  

  गणना अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र बाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिकमा ३ प्रतिशत बढी मत ल्याउने सम्भावना बढी छ ।
समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत वा त्यो भन्दा बढी मत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनधिसभामा प्रतिनिधित्व गर्न पाउने कानूनी प्रावधान छ ।

राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्ष तर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसदमा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिटेको छ ।

समानुपातिक तर्फ अहिलेसम्मको गणनामा एमालेले ३४, कांग्रेसले ३३ र माओवादीले १३ प्रतिशतभन्दा बढी मत ल्याएको छ । फोरमले ४ र राजपाले ३ प्रतिशत बढी मत ल्याएको छ । निर्वाचन आयोगले गणना नसकिदैं कुन कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने जनाएको छ । तर, अनौपचारिक रुपमा आयोगका अधिकारीले राजपासम्मले राष्ट्रिय पार्टी बन्ने बताएको छ ।

आयोगले मतदान सकिएको दिन देशैभर १ करोड ५ लाख ८७ हजार ५ सय २१ जनाले मतदान गरेको जनाएको थियो । समानुपातिक तर्फ ४ देखि ५ प्रतिशत हाराहारीमा मतबदर हुने अनुमान गरिएको छ । त्यस अनुसार ३ प्रतिशत मत पुर्‍याउन दलले ३ लाखभन्दा थोरै बढी मत ल्याउनुपर्ने देखिन्छ ।

समानुपातिकको सिट बाँडफाँड गर्दा ३ प्रतिशत भन्दा कम मत ल्याएका राजनीतिक दलको मतको गणना हुनेछैन । ३ प्रतिशत बढी मतको मात्रै कुल योगफल निकाली समानुपातिकको १ सय १० सिटको वितरण हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउनेले एउटापनि सिट पाउने छैनन् । तर, न्यूनतम ३ प्रतिशत पुर्‍याउनले ४ देखि ५ वटासम्म सिट पाउने सम्भावना छ ।

प्रत्यक्ष तर्फ एक सिट जितेको राप्रपाले समानुपातिकमा २ दशमलव २५ प्रतिशत ल्याएको छन् । उक्त दलले ३ प्रतिशत पुर्‍याए राष्ट्रिय पार्टी बन्न सक्छ । तर, प्रत्यक्ष तर्फ एक सिटपनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा २ दशमलव २६ प्रतिशत हराहारीमा मत ल्याइसकेको छ ।

उक्त दलले समानुपातिकमा ३ प्रतिशत पुर्‍याए समानुपातिकबाट प्रतिनिधित्व त  पाउने छ तर प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउने छैन ।

प्रत्यक्षमा एक सिट जितेको नयाँ शक्ति पार्टी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिकमा पाएको मत १ प्रतिशत मूनी देखिएकाले र अब गणनापनि धेरै बाँकी नरहेकाले ती दलहरु राष्ट्रिय पार्टीको सूचीमा अटाउने छैनन् ।

अपरान्ह १२ वजेसम्म सम्पन्न समानुपातिक तर्फका कुल ७८६३७६६  मतको गणना विवरण 

नेकपा एमाले                                     २६८६७८९            ३४.१६  प्रतिशत

कांग्रेस                                              २५९६११८                  ३३.०१  प्रतिशत

माओवादी                                          १०७४१७६           १३.६५ प्रतिशत

संघीय समाजवादी फोरम नेपाल             ३६५४३०                  ४. ६४ प्रतिशत

राष्ट्रिय जनता पार्टी नेपाल                    ३११५७८                  ३.९६  प्रतिशत

विवेकशील साझा पार्टी                         १७७८६९                  २.२६  प्रतिशत

राप्रपा                                               १७७५१७                 २.२५  प्रतिशत

नयाँ शक्ति पार्टी नेपाल                        ७००५८                  ०.८९  प्रतिशत

राप्रपा(प्रजातान्त्रिक)                            ६४५४९                  ०.८२ प्रतिशत

नेपाल मजदुर किसान पार्टी                   ५०७०१                  ०.६४ प्रतिशत

अन्य साना दलले पाएको कुल मत          २८८९८१