सुगर भएमा के के हुन्छन लक्षण ?

अनुहारको छाला चिलाउने र स-साना खटिरा आएपछि जँचाउन गएकी कमला ढकाललाई छालारोग विशेषज्ञले सुगरको जाँच गर्न लगाइन्। त्यसपछि बल्ल मधुमेह (सुगर) लागेको थाहा पाएकी उनी औषधि सेवन गरिरहेकी छन्।

काठमाडौं बत्तिसपुतलीकी उनी औषधि खान थालेपछि छाला चिलाउने र खटिरा निको भएको बताउँछिन्। वंशाणुगतका साथै औसत भन्दा धेरै वजनका व्यक्तिलाई मधुमेह हुने जोखिम हुन्छ। ४ फिट ९ इन्च उचाइकी ढकालको तौल ६५ किलोग्राम छ।

चिनी रोगका भनेर चिनिने मधुमेहले जुनसुकै उमेरकालाई पनि सताएको छ। यो दीर्घरोग हो। शरीरमा प्याङक्रियाजले इन्सुलिन उत्पादन गर्न नसके वा इन्सुलिन शरीरका कोषले उपयोग गर्न नसकेर लाग्ने रोग मधुमेह हो। यो तीन किसिमको हुन्छ। गर्भावस्थामा समेत यसले सताउँछ। धेरैलाई झुक्याउँछ। आफूलाई केही नभएको ठानिरहेको बेला अचानक मधुमेह देखिएको ढकाल बताउँछिन्।

मधुमेह हुँदा धेरै तिर्खा लाग्ने, धेरै पटक पिसाब लाग्ने, भोक लाग्ने, छाला चिलाउने, धमिलो देख्ने, टाउको दुख्ने लगायत लक्षण देखिन्छन्। औषधि सेवनसँगै स्वस्थ्य खानपान, नियमित व्यायाम, सक्रिय एवं तनाव रहित जीवनशैली अपनाउँदा रोगलाई नियन्त्रणमा राख्न सकिने वरिष्ठ मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.ज्योति भट्टराईको सुझाव छ। उनी भन्छिन्, “औषधिका ट्याब्लेटले मात्र मधुमेहको उपचार गर्न सकिँदैन। यसलाई बिरामीले मनन गर्नुप-यो।” ३० नाघेकाले सुगरको जाँच अनिवार्य गराउनु पर्ने उनले सुझाइन्।

स्वस्थ भोजन, नियमित व्यायाम र शरीरको अवस्थाबारे नियमित आफैं अनुगमन गर्नुपर्ने सुझाव उनको छ। खाली पेट र खानापछि सुगरको जाँच गर्नुका साथै स्वास्थ्य अवस्था अनुगमन क्रममा दाँत माझ्ने, हात/खुट्टा सफा राख्नु पर्छ। मधुमेहका रोगीले ६ महिनामा एकपल्ट पिसाब, क्रिएटिनिन, लिपिड प्रोफाइलको जाँच गराउनु पर्छ। आँखा जँचाउने, दाँत जँचाउने र कलेजोका साथै मिर्गौलामा असर छ/छैन नियमित जँचाउनु पर्छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ मधुमेहले मुटु तथा रक्त नलीमा समस्या ल्याउने बताउँछन्। “मधुमेहले जहाँसुकै असर गर्छ। यसले नछुने कुनै ठाउँ छैन। मुटुको नशा अवरुद्व गराउँछ। हृदयाघात समेत गराउन सक्छ” उनले भने। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार मधुमेहले मिर्गौलामा समेत असर पु-याउन सक्छ।

मधुमेह लाग्ने दर महिला र पुरुषमा बराबर हुन्छ। डा.भट्टराईका अनुसार वंशाणुगत भएकाले अभिभावकलाई मधुमेह भए सन्तानलाई पनि हुने सम्भावना बढी हुन्छ। यस वर्ष विश्व मधुमेह दिवसको नारासमेत परिवार र मधुमेह छ। नेपालमा मधुमेहका बिरामीको यकिन तथ्यांक नभए पनि बिरामी बढेको चिकित्सक बताउँछन्। विश्वभरि ४१ करोड ५० लाखभन्दा धेरै व्यक्ति मधुमेहका रोगी छन्।