कालीकोट र दांगमा पहिरो: एकै परिवारका ७ सहित ११ जनाको मुत्यू, आधा दर्जन बेपत्ता

तस्बिर: कालीकोट सदरमुकाम खांडचक्र मान्म

१४ साउन,कालीकोट/  कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडानम्बर ७ मा पहिरोले पुरिएर ९ जनाको मृत्यु भएको छ भने आधा दर्जन बेपत्ता भएका छन ।

कालीकोट जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलीका अनुसार कालीकोटको  नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।
मंगलबार राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय राम बहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको शव फेला परेको छ । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख ओलिले जानकारी दिनुभएको छ।

यस्तै नरहरिनाथ गाउँपालिकाको वडानम्बर ४ माझगोठीमा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा ७० वर्षीय बाले बुढा उनकी ६५ वर्षीय श्रीमती मना बुढाको मृत्यु भएको छ ।
कालीकोटको रास्कोट नगरपालिका-१ मा बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन । रास्कोट-१ बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राज बहादुर शाहीको घर बगाउँदा उनी सहित ५ जना बेपता भएका छन् ।

बेपत्ता हुनेमा राज बहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। साथै, सोही वडाको चोक्टेबगरमा टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुँना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दांगको पहिरो

यता दाङ जिल्लाको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । दाङ जिल्लाको बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको २ वर्षी छोरी आयुस्माको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिनुभएको छ।