मध्य र सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा भारी हिमपात: जनजिवन कष्टकर

Photo: Tahakhabar

२३ पुस, मुगु/ मुगु जिल्लामा आईतबार राति देखि सुरु भएको हिमपात सोमबार पनि जारी रहेको छ।  जिल्लाका उच्च हिमाली क्षेत्रमा आईतबार बिहानै देखि मुगुको सदरमुकामको डोल्फु , किम्री, पुलु, माँग्रीमा सबै भन्दा बढी हिमपात भएको छ।

त्यस्तै खत्याड गाउँपालीकाको खमाले ,गम्था ,सेरी कोटडाँडा लगायतका ठाउँमा पनि हिपपात भएको छ । सोरु गाउँपालीकाको, कालै, धैन, सोरुकोट भिई लगायतका ठाउँमा पनि हिमपात भइएको सोरुका स्थानीय पदम बहादुर शाहीले जानकारी दिनुभएको छ।

त्यसैगरि छायाँनाथ रारा नगरपालीकाको साविकाका रोवा, रुगा, रारा, पिना लगायतका गाविसमा पनि भारी हिमपात भएको छ । भारी हिमपातसँगै मुगु जिल्लाको जनजीवन कष्टकर बनाएको छ। लगातार हिमपात भएपछि अत्याधिक जाडो समेत बढेको छ। जिल्लाको बढी चहलपहल हुने मुगुको गमगढी बजार केही सुनसान छ।
अत्याधिक हिमपातका कारण स्थानीयले पशु चौपाया समेत गोठबाट निकाल्न सकेका छैनन्। हिमपात भए पछी भने किसान केही खुसी भएका छन्। लामो समयदेखि पानी नपरे निराशा भएका किसान भने खुसी भएका हुन्। हिमपातसँगै खेतीपाती फस्टाउने भन्दै किसानमा खुसी भएको बताउने गरेका छन।

त्यसै गरि मौसममा आएको परिवर्तनका सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ,लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

यस्तै दार्चुलाको दार्चुलाका उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाँउमा हिमपात भएको छ । डडेल्धुराको भीमदत्त राजमार्गको शाहुखर्क, हगुल्टे लगायतका स्थानमा पनि हिमपात भएको हो ।

हिमपात भएसंगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको बिशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यो समयमा बालबालिकाहरुमा न्यूमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धि रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यसैबीच लामोसमयको खडेरीपछि हिमपात भएकाले किसानहरु खुसी भएका छन् ।

हिमपातले हिउँदेबाली सप्रने भन्दै किसानहरु खुसी भएका हुन् । हिमपातले गहुँ लगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनु भएको छ । यसअघि गएको मंसिर अन्तिम साता पनि सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लामा हिमपात भएको थियो ।