ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा: पर्यटन मन्त्री अधिकारी सहित ७ जनाको निधन, राष्ट्रिय शोकको घोषणा: सार्वजनिक विदा

१५ फागुन,नेपालगञ्ज/  ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षण पछि मन्त्री अधिकारी सहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलीकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।

पाथीभराबाट उडेको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि उडेको एक मिनेटमै दुर्घटनामा परेको भिडियो ट्र्याक रेकर्डबाट देखिएको जानकारी दिनुभएको छ ।

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक: सार्वजनिक विदा

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा बिहिबार राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेश स्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको सरकारले बताएको छ । नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ निर्णयमा भनिएको छ ।

हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन

सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन हुने गरी भएको हेलिकोप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकमिस्क बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो । समितिमा सहायक रथी दिपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको । समितिले सम्भव भएसम्म छिटो प्रतिवेदन बुझाउन भनिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभएको छ ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको शव घटनास्थलबाट निकाल्न कठिनाइ भएको छ ।

नेपाली सेनाका अनुसार खराब मौसमका कारण शव निकाल्न कठिनाइ भएको हो । सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले  दिएको जानकारी अनुसार हेलिकोप्टर सेनाको एमआई १७ र अर्को हेलिकोप्टर ताप्लेजुङको आकाशमा छ । ‘हेलिकोप्टर अहिलेसम्म ल्याण्ड हुन सकेको छैन । यद्यपि, डोरीको सहायताले सेनाको टोलीले ४ जनाको शव निकालिएको छ’, प्रवक्ता ढकालले भने, ‘हाल ती शवलाई ताप्लेजुङको सुकेटार विमानस्थलमा राखिएको छ ।’

थप ३ जनाको शवलाई मौसममा आएका खराबीका कारण निकाल्न सकिएको छैन । ढकालका अनुसार रात परिसकेकाले पनि उद्दारमा कठिनाइ भएको छ । हाल एयर डाइनेष्टी र सिम्रिक एयरको एकरएक वटा हेलिकोप्टर पनि त्यहीँ छ ।

विमानस्थलसम्म ल्याइएको ४ वटा शवलाई काठमाडौं ल्याउने प्रयास गरिए पनि मौसमका कारण त्यो सम्भव नभएको ढकालको भनाइ छ । ‘अब ७ जनाकै शवलाई संकलन गरेर बिहीबार बिहान मात्रै काठमाडौं ल्याउनछौं’ । बुधबार दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको दुर्घटनामा हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।