मनकामना मन्दिरमा भारतीयको भीड

१७ जेष्ठ, गोर्खा । मनकामना मन्दिरमा यतिबेला दर्शन गर्नेहरु आधाभन्दा बढी भारतीय भक्तजन हुन थालेका छन् । भारतमा चर्को गर्मी छल्न घुम्न आउने पर्यटकहरु बढेसँगै मनकामना मन्दिर भारतीय पर्यटकले भरिएको हो ।

मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक गिरिधारी सापकोटाका अनुसार यो महीना शुरु भए यता मनकामना आउनेमा आधाभन्दा बढी भारतीय भक्तजन आउन थालेका हुन । मन्दिरमा दर्शन गर्न दैनिक ६/७ हजार हाराहारी भक्तजन आउने गरेको सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो “हिजो दिनभर मन्दिर परिसरमा नेपालीभन्दा भारतीय अनुहार बढी देखिन्थे ।” बुधबार साँझ ७ बजेसम्म भक्तजनले लाममा बसेर दर्शन गरेको सापकोटाको भनाइ थियो । गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका धार्मिक पर्यटकीय क्षेत्र अवलोकन गरेसँगै भारतीय पर्यटक बढेको सापकोटाको विश्लेषण छ । मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगर यतिबेला भारतीय भक्तजन निकै बढेको बताउनुहुन्छ ।

मन्दिरमा आउने आधाभन्दा बढीले बाहिरैबाट पूजा गर्ने बताउँदै उहाँले भारतीय भक्तजनले लामो समय पालो कुरेर पूजाआजा गर्ने गरेको जानकारी दिनुभयो । मनकामना माताको शक्ति र महत्व भारतीय क्षेत्रमा प्रचार हुँदै गएपछि नेपाल आउने पर्यटकले मनकामना मन्दिर नछुटाउने इच्छा व्यक्त गर्ने गरेको बताइएको छ । मनकामना मन्दिर दर्शन गर्न धेरै केबुलकार चढेर जाने गर्छन् । केही सडकको बाटो हुँदै पनि जाने गर्दछन् ।

चितवनको कुरिनटारबाट गोर्खाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिरसम्म केबुलकार सञ्चालनमा रहेको छ । मनकामना दर्शन प्रालिले केबुलकार सञ्चालन गरेको हो । प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार बुधबार तीन हजार ८०० भक्तजनले केबुलकारको यात्रा गरेकामा दुई हजार भारतीय रहेका थिए । गर्मी महीनामा भारतीय आउने क्रम बढ्दो रहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा एक लाख ८१ हजार भारतीय तीर्थयात्री केबुलकार चढेर मन्दिर पुगेका थिए । अघिल्लो वर्ष सो सङ्ख्या एक लाख १४ हजार रहेको थियो ।