शनिबार नेपालगञ्जमा राष्ट्रिय म्याराथन छनौट प्रतियोगिता

५ मंसिर, नेपालगञ्ज/ क्रियटिभ ह्यान्ड्स नामक गैर-सरकारी संस्थाले बर्षेनी आयोजना गदै आएको नेपालगञ्ज म्याराथन प्रतियोगिता छैटौं पटक भोली शनिवार नेपालगञ्जमा सम्पन्न हुदैछ ।

यस पटक को नेपालगञ्ज म्याराथनको उपाधि जित्ने खेलाडीले ओलम्पिकमा खेल्न पाउने अवसर पाउने भएका छन् ।
आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष अध्यक्ष टीएस ठकुरीले बिहीबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर भोली शनिबार हुने छैटौं “धारा नेपालगञ्ज म्याराथन”को विजेताले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको जानकारी दिनुभएको छ ।

विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी दिएको छ ।

ओलम्पिक छनोटका रुपमा समेत लिएकोले “धारा नेपालगञ्ज म्याराथन” प्रतियोगितामा पुरुष म्याराथनमा यस पटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह बोगटी, गत वर्षका विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्की लगायतका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।

महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिने तयारी गरिएको छ । “धारा नेपालगञ्ज म्याराथन” नेपालगञ्जको वीपी चोकदेखि सुरु भएर कोहलपुरको बानियाभार पुगेर पुनः वीपी चोकमै फर्किनु पर्नेछ ।

यस अघिको प्रतियोगिता मा “स्थायी शान्ती र समृद्धीको लागि “नेपालगञ्ज म्याराथन” नारा दिइएको थियो।

यसपटकको म्याराथनका प्रथम विजेताले ७५ हजार दोस्रोले ३० हजार, तेस्रोले २० हजार, चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको प्रथम विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।

महिला हाफ म्याराथनको विजेताले ३०, दोस्रोले १५ हजार तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।