तस्करलाई गोली ठोक्न बाँके प्रशासनको निर्देशन

फोटो : फाइल

# कृष्ण खनाल #
१६ मंसिर नेपालगञ्ज/ बाँके जिल्लाको नेपाल-भारत सीमावर्ती ग्रामीण क्षेत्रहरूको बाटो प्रयोग गरी तस्करी कार्य बढेपछि त्यसलाई नियन्त्रण गर्न आवश्यक परे गोली प्रहार गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले मातहत निकायलाई निर्देशन दिएको छ।

विशेष सुचनाको आधारमा बाँके जिल्लाको नेपाल-भारत सिमावर्ति ग्रामिण इलाकामा केही राष्ट्रसेवकको समेत मिलिभगतमा जवरजस्त अवाञ्छित क्रियाकलाप भएको सूचना पाए लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेले त्यस्ता व्यक्तिहरुलाई आवश्यक परेमा गोली समेत प्रहार गरेर भएपनि नियन्त्रणमा लिन मातहत निकायलाई निर्देशन दिएको छ ।

जिल्ला प्रहरीको निर्देशन अटेरी गरी लुम्बिनी प्रदेशका डिआईजीको नाम बेचेर बाँके जिल्लाको सिमावर्ती क्षेत्रका केही प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय मातहत पर्ने क्षेत्रहरू जैसपुर, पचपोखरा, जमुनहा, हिरमिनिया तथा कोहलपुरका पुराना तथा नयाँ तस्करहरु देबी, बरकत, आलम, भौकी, मन्त्री, मोनु लगायतका नाम गरेका ब्यक्ती मार्फत राष्ट्रसेवक कर्मचारी लाई प्रलोभनमा पारी सिमा क्षेत्रमा तस्करी कार्य भईरहेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले यस्तो कडा निर्देशन जारी गरेको हो।

सरकारी विशेष सुचनाको आधार तथा स्थानीय बासिन्दाहरूको समेत जनगुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय बाँके र केही सुरक्षा निकायहरूको सदस्यहरू सहभागिता रहेको अनौपचारिक बैठकमा जिल्लाको समग्र शान्तिसुरक्षाको अवस्था,अवाञ्छित क्रियाकलाप तथा तस्करी नियन्त्रण विषयमा समेत छलफल भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओम बहादुर राना मगरका अनुसार समाजमा भएका अवाञ्छित क्रियाकलाप तथा सिमा क्षेत्रमा तस्करी कार्य पूर्ण नियन्त्रण गर्न कार्ययोजनाका साथ थप कडाई गर्न प्रशासन बाट निर्देशन प्राप्त भएको जानकारी दिनुभयो।

बाँकेका प्रहरी प्रमुख ओम रानामगरले बाँके जिल्लामा आफू आएदेखि नै समाजमा उत्कृष्ट नतिजा देखिनेगरी काम गरिरहेको र सोही बमोजिम काम गर्न बेलाबखत बैठकहरु मार्फत औपचारिक अनौपचारिक मातहत निकायलाई निर्देशन जारी गरिरहेको जानकारी गराउँदै आएको र सोहीअनुरूप काम गर्न अनुरोध गर्नु भएको छ।