चेक बाउन्स केसमा फौजदारी कार्यबिधि ऐन २०७४ अनुसार नै कार्बाही गर्ने सहमती

 

१६ असोज, नेपालगञ्ज/  चेक बाउन्स केसमा प्रहरीले मुलुकी फौजदारी कार्यबिधि ऐन २०७४ अनुसार नै ठगि मुद्धा दर्ता गर्ने नेपालगञ्ज स्थित पुनराबेदन बार बेन्च र बांके प्रहरी बीच सहमती भएको छ । बाउन्स केसहरु अत्याधिक आएको र प्रहरी त्यसमै अल्झीनुपर्ने बाध्यता रहेको लगायतका बिषयमा पनि सम्वद्धहरु बीच बिहिबार र शुक्रबार छलफल भएको छ ।

चेक बाउन्स केसमा पिडितलाई मुलुकी देवानी संहिता ऐन २०७४ अनुसार चेक अनादर सम्वन्धी सिधै अदालतमा मुद्धा दर्ता गर्नसक्ने र प्रहरी मार्फत मुलुकी फौजदारी कार्यबिधि ऐन २०७४ अनुसार मुद्धा दर्ता गर्दा अभियुक्तहरु थप हैरानीमा पर्न सक्ने भन्दै त्यस्ता मुद्धा प्रहरीलाई दर्ता नगर्न मौखिक आदेश दिएको समाचार र टिका टिप्पणी सुरुभएकै बीचमा बेन्चको समन्वयमा बेन्च, बार र प्रहरी आपसमा छलफल पछी  सहमती भएको हो ।

चेक बाउन्स केसमा केही दिन अघि बेन्चको तर्फबाट अभियुक्तहरु थप हैरानीमा नपरुन भनेर बैकल्पीक निकास खोज्ने प्रयास गरिएको र प्रहरीले सोही बमोजिम गर्न खोजेकोमा पिडितहरु थप पिडित भएको महसुस गरि चेक बाउन्स केसमा मुलुकी फौजदारी कार्यबिधि ऐन २०७४ अनुसार मुद्धा दर्ता गर्ने सहमती भएको हो ।
उक्त सहमती पछी अपराध नियन्त्रण तथा कार्बाही प्रक्रियामा आधिकारीक सरकारी निकाय बीच उत्पन्न भएको असमसजस्यता हटेको छ।

अब पुनः चेक बाउन्स मुद्धामा प्रहरीले सरकारी वकील मार्फत मुलुकी फौजदारी कार्यबिधि ऐन २०७४ अनुसार मुद्धा दर्ता गरि अनुसन्धानका लागी पक्राउ, बयान, थुनछेक गरि सरकारी वकील मार्फत सिधै उच्च अदालतमा मुद्धा किनाराका लागी पेश गर्ने छ ।