छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

६ मंसिर, नेपालगञ्ज/ बैतडी, चितवन, सिन्धुपाल्चोक, कपिलवस्तु, झापा र दाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।
बैतडी, दशरथचन्द नगरपालिका(४ कलवाड मोडस्थित सडकमा म.१ ज ३१० नम्बरको जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जिपमा सवार दशरथचन्द नगरपालिका-६ सिमाईल बस्ने ४८ वर्षीय धन बहादुर चन्द सहित ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जिपमा सवार ५ जनाको घटनास्थलमै तथा गम्भीर घाइते भएका जिप चालकको जिल्ला अस्पताल बैतडी हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दाङ: शान्तिनगर गाउँपालिका=२ बहुला खोलास्थित सडकमा लु.४ त ७७७१ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा काम गर्ने सोही ठाउँस्थित टेबा बस्ने २२ वर्षीय लोक बहादुर वलीको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कपिलवस्तु: बाणगंगा नगरपालिका(९ भर्तापुरस्थित सडकमा लु.३९ प ४९६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको हो ।

चितवन : माडी नगरपालिका- ७ परुई खोलास्थित सडकमा ना.५ त ८२१४ नम्बरकोट्याक्टरबाट लडेर सोही नगरपालिका- ८ बस्ने २८ वर्षीय सुनिल चौधरीको आइतबार बिहान मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल हुँदै सरकारी अस्पताल भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक: ईन्द्रावती गाउँपालिका-५ कोईरालाटारस्थित सडकमा लु.२ त ८३०४ नम्बरको ट्याक्टरले किचेर सोही गाउँपालिका-५ नयाँबस्ती बस्ने ३५ वर्षीय श्याम बहादुर माझीको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापा: मेचीनगर नगरपालिका-६ फाईरिङ चोकस्थित सडकमा मे.१ ह ६४५० नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५१ वर्षीय चन्द्र प्रसाद अधिकारीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।