लागुऔषधसहित छ पक्राउ

२ असार, म्याग्दी / लाागुऔषधसहित बेनीबाट छ पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई युवती पनि छन् । उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका–१ बेगका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८ की रेजिना श्रेष्ठ र मङ्गला गाउँपालिका–३ बरंजाकी २२ वर्षीया सीता केसी छन् ।

यस्तै बेनी नगरपालिका–९ गलेश्वरका राजकुमार शेरपुञ्जा, बेनी नगरपालिका–८ का २८ वर्षीय विजय बानियाँ र रघुगङ्गा–६ घर भई हाल बेनी नगरपालिका–७ मङ्गलाघाट बस्ने २० वर्षीय प्रविण छन्त्याल रहेका छन् । शङ्कास्पद रुपमा हिँडिरहेका उनीहरुलार्ई गस्तीमा रहेको प्रहरी टोलीले शनिबार राति जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो । उनीहरुले लागुऔषध प्रयोगका साथै ओसारपसारमा समेत संलग्न भएको प्रारम्भिक बयान दिएका छन् ।

पाँच हजार सवारीसाधन कारवाहीमा म्याग्दीमा चालू आर्थिक वर्ष २०७५÷७६ को ११ महीनाको अवधिमा पाँच हजारभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । साउनदेखि जेठ महीनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ३५६ सवारीसाधनका धनी तथा चालकलाई कारवाही गरेर रु ३६ लाख ७० हजार राजश्व सङ्कलन गरेको छ । नियमविपरीत सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजातविना सवारी चलाउने ट्रक÷टिपर, बस, जिप, कार, भ्यान, ट्र्याक्टर, मोटरसाइकल, स्कुटरका चालक र सवारीधनीलाई कारवाही गरिएको प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जानकारी दिनुभयो ।

ट्रक÷टिपर ८९७, बस ९२८, जिप कार भ्यान एक हजार ९९०, ट्र्याक्टर ५४५, मोटरसाइकल स्कुटर ९१७ लाई कारवाही भएको छ । ९४ सवारी चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कारवाही गरिएको कार्यालयका प्रहरी जवान बैकुण्ड पौडेलले जानकारी दिनुभयो । यस वर्ष म्याग्दीमा सात दुर्घटनामा दुईको मृत्यु, पाँच सिकिस्त घाइते, १३ समान्य घाइते र दुई बेपत्ता भएका छन् ।