छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

 

८ मंसिर,नेपालगञ्ज/ तनहुँ, सिन्धुली, सर्लाही, बर्दिया, झापा, रसुवा र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

तनहुँ, भानु नगरपालिका-१ भन्सारस्थित सडकमा ना.६ ख ९१३४ नम्बरको बसले बा.४५ प २३८३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक गोर्खा पालुङटार नगरपालिका-४ वतडाँडा बस्ने २४ वर्षीय सुवर्ण देवकोटाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका-८ सिस्नेरीस्थित सडकमा बा.२० च ९२२६ नम्बरको गाडी र ना.३६ प ५८९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बागलुङ घर भएका २६ वर्षीय तेजेन्द्र बुढा मगरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाको विषयलाई लिएर स्थानीय बासिन्दाहरुले उक्त गाडीमा आगजनी गर्दा गाडी पूर्णरुपमा जेलर नष्ट भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिन्धुली, दुधौली नगरपालिका-२ गागनस्थित सकडमा ज.९ प ९४२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक दुधौली नगरपालिका-१ बंकाडाँडा बस्ने ४५ वर्षीय दिलिप अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्दनपुर पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही, बागमती नगरपालिका-१० केराबारीस्थित सडकमा बीआर ०५ पीए ७१९९ नम्बरको सुमो गाडीले ज.१२ प ९९०७ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार हरिवन नगरपालिका-७ बस्ने २५ वर्षीय देब मोक्तान र सोही ठाउँ बस्ने २३ वर्षीय मिलन ब्लोन रहेका छन् ।  दुर्घटनामा घाइते भएका उनीहरुको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 बर्दिया, गेरुवा गाउँपालिका-६ नारायणपुरस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया सुगनी थारुको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल प्रसेनिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

झापा, कनकाई नगरपालिका-३ स्थित सकडमा मे.९ प ६५१९ नम्बरको मोटरसाइकललाई मे.१ ज १४०५ नम्बरको गाडीले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कन्काई नगरपालिका-६ बस्ने ६० वर्षीय कबिराज बोहोराको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएनसि बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका गाडीमा सवार ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रसुवा, गोसाईकुण्ड गाउँपालिका-६ ठाडेस्थित सकडमा ना.१ ज ६१७६ नम्बरको सुमोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४ वर्षीया नैना घलेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पदैलयात्रीलाई ठक्कर दिँई सुमो समेत अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर घाइते भएका सुमो चालक समेत ६ जनामध्ये २ जना पैदलयात्रीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि बिपि अस्पताल काठमाडौं पठाइएको छन भने २ जनाको त्रिशुली अस्पतालमा उपचार तथा २ जना उपचार भइरहेको पश्चात डिश्चार्ज भएका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-१३ जितगढीस्थित सकडमा ना.७ ख ९०६ नम्बरको बसले लु.२६ प ५८९८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका-१३ बस्ने ५२ वर्षीय टंकमणी भन्ने राम प्रसाद बन्झाडेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडमान सिटी अस्पताल जितगढी सामान्य उपचार पश्चात लुम्बिनी सिटी बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले दुर्घटनाका सम्बन्धमा नजिक प्रहरी कार्यालयबाट खटिइ गएकोले थप अनुसन्धान गरिरहेको छ ।