नेपालमा सुन तस्करीको कथा…. गोरेले ३३ किलो हैन, ३७ क्विन्टल सुन भित्र्याएको सिआइबीको अनुसन्धान रिपोर्ट

उर्लाबारीबाट २०७४ चैत पहिलो साता एउटा टोली काठमाडौं आयो । जो पीडित छ, उसैलाई प्रहरीले ज्यान मुद्दा लगाएको भनी टोलीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष अर्जी गर्‍यो ।

कुरा सुनेपछि गृहमन्त्री थापाले उनीहरूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकोमा लिएर गए । टोलीको गुनासोबारे ओलीलाई ब्रिफिङ पनि गरे । टोलीले सनम  शाक्यको हत्या गर्ने व्यक्ति गोरे उर्फ चुडामणि उप्रेती भए पनि गोरेबाटै पीडित भएका नरेन्द्र श्रेष्ठ र अर्का एकजनालाई पनि आरोपित गरी हिरासतमा राखिएको गुनासो गरेको थियो ।

गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुगेको यो विषयबारे तत्कालै प्रहरी प्रमुखलाई खबर भयो । ‘सनम शाक्य हत्या सुनकाण्डसँग जोडिएको रहेछ । यो गम्भीर विषय हो । अनुसन्धान अघि बढाउनुस्’, गृहमन्त्री थापाले आईजीपी प्रकाश अर्याललाई आदेश दिए । घटना सम्बन्धमा विस्तृत छानबिन गर्न तत्कालीन डीआईजी पुष्कल रेग्मी, वसन्त लामा र डीएसपी सुदीप पाठकको टोली मोरङ पुग्यो ।

सनम शाक्य हत्याबारे प्रारम्भिक छानबिन गरेको अपराध महाशाखाका प्रमुख तत्कालीन एसएसपी दिवस लोहनी विदेश थिए । विराटनगर गरिएको छानबिनका क्रममा सनम शाक्यको हत्या दुबईबाट ल्याएको ३३ केजी सुनसँग जोडिएको फेला पर्‍यो ।

सनम, तत्कालीन अवस्थामा हिरासतमा रहेका नरेन्द्र र एक अर्का व्यक्तिलाई यातना दिने क्रममा गोरेबाट सनमको हत्या भएको तथ्य फेला परेको छानबिनमा संलग्न प्रहरीका एक उच्च अधिकारीले बताउनुभएको छ ।

प्रहरीको छानबिन टोलीले सनमको हत्या गोरेले गरेको र गोरे सुन तस्करीको मुख्य योजनाकार भएको रिपोर्ट आईजीपीलाई गर्‍यो । आईजीपीले सो टोलीलाई सुन तस्करी कसरी भएको छ ? भनेर ‘प्रिजेन्टेसन’ तयार गर्न लगाए । त्यो ‘प्रिजेन्टेसन’ लिएर छानबिनमा संलग्न प्रहरीका उच्च अधिकृतहरूसहितको टोली आईजीपी, गृहमन्त्री र प्रधानमन्त्रीलाई भेट्न गए ।

सुन कसरी तस्करी भइरहेको छ ? भनेर ‘प्रिजेन्टेसन’ पेश भएपछि यसलाई टुंगो लगाउनुपर्छ भनेर प्रधानमन्त्री ओली उत्साहित हुनुभयो । सनम हत्याकाण्डमा प्रतिवादी रहेका दुईजनाको बयानबाट अपराध महाशाखा पनि ‘कैफियत’ मा पर्‍यो ।

सुनसँग जोडिएको केसमा मुख्य अभियुक्त गोरेलाई किन प्रतिवादी बनाइएन भन्ने प्रश्नसँगै विशेष समिति बनाउन प्रधानमन्त्री ओली हुनुभयो ।

विशेष छानबिन समिति गठनको सन्दर्भ———

प्रधानमन्त्री ओलीको आदेश अनुसार विशेष समिति बनाउने निर्णय भयो । विशेष समितिलाई ४५ दिनको कार्यादेश दिइयो । ३३ केजी सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा नेपाल भित्र्याइएको भनी प्रहरी प्रधान कार्यालयबाट प्रारम्भिक जानकारी भएको उल्लेख गर्दै संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ बमोजिम विशेष अनुसन्धान गर्ने भनी २०७४ चैत २० गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयानुसार विशेष समितिमा गृहका सह–सचिव ईश्वर पौडेलको संयोजकत्वमा त्यसबेलाका एसएसपी वसन्त लामा, डीएसपी सुदीप पाठक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सम्मिलित विशेष छानबिन समिति बन्यो । समितिको सचिवालय गृहमन्त्रालयमा स्थापना गरियो । केही प्राविधिकको सहयोगमा सचिवालय तयार भयो ।

विशेष समिति प्रारम्भिक छानबिन गर्न विराटनगर पुग्यो । छानबिनमा संलग्न एक उच्च प्रहरी अधिकृतले भने, ‘सनम मारिएको ३३ केजी सुन कान्डमा हो । बयान र गोरेको डायरीमा उल्लेख तथ्य हेर्दा ३७ क्विन्टल सुन भित्रिएको रहेछ । यसको मास्टर प्लान गर्ने गोरे नै हो भनेर यकिन गरियो । सनम शाक्य गोरेको एकाउन्टेन्ट रहेको पत्ता लाग्यो ।’

सुन कसरी भित्रिन्छ भन्ने तथ्य खोज्दै जाँदा तीनवटा रुटबारे पत्ता लाग्यो ।

सुन छिराउने पहिलो रुट ——-

सबैभन्दा पहिलो रुटमा एयरपोर्टमा रहने प्रहरीको मिलेमतो भेटियो । एयरपोर्टको इञ्चार्ज तत्कालीन डीआईजी विकास खनाल थिए । ती अनुसन्धान अधिकृतका अनुसार तत्कालीन एसएसपी श्याम खत्री र गोरेको मिलेमतोमा सुन भित्रिने गरेको तथ्य फेला पर्‍यो ।

दुबईबाट गोरेका मान्छेहरू कसैले झोलामा, कसैले ज्याकेटमा लुकाएर सुन ल्याउँदा रहेछन् । जहाजबाट ओर्लिएपछि सम्बन्धित जहाजको गाडीमा चढेर इमिग्रेसनमा लाइन पुग्नुपर्ने हो । इमिग्रेसनको चेकिङ जहाँ हुन्छ, त्यसको दायाँतिर प्रहरीको ‘पोस्ट’ छ ।

गोरेका मान्छेहरू इमिग्रेसनको चेकिङमा नगई सरासर प्रहरी कार्यालयमा पुगेर झोला वा ज्याकेट जेमा सुन छ, त्यो छाडेर बल्ल लाइनमा आउने रहेछन् । गोरेको सुन आउने दिन त्यहाँ एसएसपी श्याम खत्री वा डीएसपी विकास खनाल आफैं बस्ने गरेको पाइएको ती अनुसन्धान अधिकृतले बताए ।

प्रहरी कार्यालयबाटै अन्तिम चेक पोइन्टसम्म जाने अर्को ढोका छ । त्यो ढोकाबाट खत्री वा खनालले सुन चेक पोइन्टमा नपुर्‍याई अर्को ढोकाबाट प्रहरीको भ्यानमा राख्ने गरेको छानबिनका क्रममा भेटिएको ती अधिकृत बताउँछन् ।

प्रहरीका भ्यान निस्फिक्री उत्तरतिर अर्थात् ‘डोमेस्टिक’ एयरपोर्टको घुम्तीनिरको गेटमा पुग्दो रहेछ ।त्यहाँबाट सुन पास गरेपछि कहिले तीनकुने सरस्वती मन्दिरनिर, कहिले तिलगंगा आँखा अस्पतालको छेउतिर पुगेर गोरेलाई सुन बुझाउने चाँजोपाँजो मिलाउने गरेको पाइयो ।

सुन छिराउने दोस्रो रुट——

गोरेले अर्को सेटिङ थाई एयरलाइन्सका सरसफाइ कर्मचारीहरूसँग मिलाएको भेटियो । सुन लिएर आउने गोरेको मान्छे जहाजबाट गाडीमा चढ्दा अन्तिम सिटमा बस्ने । सुन भएको ज्याकेट अन्तिम सीटमा छोडेर आउने । त्यो छोडिएको सुन भएको ज्याकेट थाई एयरलाइन्सको सरसफाइ कर्मचारीले यता थाई एयरलाइन्सको कार्यालयमा ल्याएर आउने ।

थाईको कार्यालय आयल निगम छेउमा रहेको र त्यहाँ सेनाले चेक गर्ने गर्थ्यो । तर ज्याकेटमा रहेको सुनलाई झिकेर मोटर साइकलको पेट्रोल ट्याङ्कीमा राख्ने । सेटिङ यतिसम्म भेटियो कि ज्याकेटमा ३३ केजी अट्ने ३३ वटै गोजी, मोटर साइकलको पेट्रोल ट्याङ्कीमा आधामा पेट्रोल, आधामा ३३ केजी सुन ठ्याक्क अट्ने खालको बनाएर एयरपोर्टबाट पास गर्ने गरेको छानबिनका क्रममा भेटियो ।

सुन छिराउने तेस्रो रुट—–

दुबईबाट सुन बोकेर आउने गोरेका भरियाहरू जहाज ल्यान्ड हुनुभन्दा आधा घन्टा अगाडि जहाजको ट्वाइलेट पस्ने । ज्याकेटको सबै सुन झिकेर ट्वाइलेटको कमोडमा वरपर घेरामा घुसाएर राख्ने । कमोडमा सुन भएको जानकारी कुनै ‘कोड’ भाषामा जहाजका सरसफाइ कर्मचारीलाई जानकारी गराउने । सोहीबमोजिम जहाजका सरसफाइ कर्मचारीले ट्वाइलेटको कमोडबाट सुन झिकेर जहाज चढ्ने सिंढीमा गायब पार्ने नौलो घटना भेटिएको ती अधिकारीले बताए ।

उनले भने, ‘जहाज चढ्न, ओर्लन प्रयोगमा आउने भर्‍याङमा समाउन राखिएको पाइपको माथि खुला गरि राखिएको, अनि तल बन्द थियो । ट्वाइलेटबाट सुन झिकेपछि सरसफाइ कर्मचारीले भर्‍याङको पाइपमा माथिबाट सुनको टुक्रा राख्ने रहेछन् । आफ्नो अनुकूलमा भर्‍याङ थाई एयरको कार्यालय छेउमा लगेर तलबाट खोलेर फेरि मोटर साइकलको ट्याङ्कीमा राखेर पास गरेको भेटियो ।’

त्यहाँबाट पास भएको सुन अनामनगरस्थित एमके अग्रवालको घरमा पुग्दोरहेछ । अग्रवालको घर खनतलासी गर्दा सुन बोक्ने ज्याकेट, सुन बोक्न बनाएको मोटरसाइकलको ट्याङ्की भेटियो । त्यही क्रममा ३३ केजी सुन अनामनगर छेउबाट गायब भएपछि गोरेले अनुसन्धान शुरू गरेको तथ्य छानबिनले फेला पार्‍यो ।

‘पछि तिर्दा पनि हुन्छ, यसको अनुसन्धान नगर भनेका रहेछन् उसका साथीहरूले, तर गोरेले प्रहरीले भन्दा ज्यादा अनुसन्धान गरेको रहेछ । गोरेको अनुसन्धानकै क्रममा यातना पाएको रहेछ सानो वन भन्नेले । फेरि बाहिर आइज भनेछ गोरेले । गोरेको टीमले फेरि कुटेर यातना दिन्छ भनेर ट्याङ्करमा आफैं गएर आत्महत्या गरेको पाइयो । सीसीटिभी हेर्दा गुड्दै गरेको ट्याङ्करमा आफैं गएर टायरमुनि गएर पसेको देखिन्छ । त्यो हामीले अनुसन्धान थाल्नुअघिकै घटना हो’, ती अधिकारीले भने ।

३३ केजी सुन हराउँदा सुन बोक्ने जिम्मा वनले पाएका रहेछन् । छानबिन समितिले पक्राउ गरेका अर्का व्यक्ति बर्दियका प्रेमलाल चौधरीले प्रहरी हिरासत सिंहदरबारको ट्वाइलेटमा आत्महत्या गरे ।

‘एउटा राणाको घरमा काम गर्न आएको केटो रहेछ, प्रेमलाल। त्यो राणाको थाई एयरका मान्छेहरूसँग चिनजान रहेछ । यसलाई पनि केही काम लगाइदिनु भनेर त्यहाँ काम पाएको रहेछ । तर उसले केही वर्षमै करोडौंको सम्पत्ति जोडेर सुन पसल समेत चलाएको रहेछ । अनुसन्धान हुँदाहुँदै उसले पनि आत्महत्या गर्‍यो’, ती अनुसन्धान अधिकारीले थपे ।

अपराध महाशाखाका अधिकृतहरू किन छानबिनमा तानिए  ?

एसएसपी दिवस लोहनीको छवि प्रहरीमा राम्रै थियो । तर, उनी निकै महत्त्वाकांक्षी अफिसरमा गनिन्थे । ‘घटना मोरङको थियो । अपराध महाशाखाको कार्यक्षेत्र खासमा उपत्यकामा हो । तर, क्षेत्राधिकारभन्दा बाहिर गएर लास व्यवस्थापन गरेर ३ जनालाई प्रतिवादी बनाएर आएको छ । प्रतिवेदनमा गोरेको नाम उल्लेख गरिएको छैन,’ छानबिनका ती सदस्यले भने ।

यसबारे लोहनीसहित त्यसबेला कमाण्ड लिएका प्रजित केसीले गोरे कतैबाट नभागोस् भनेर उसको नाम प्रतिवेदनमा उल्लेख नगरिएको प्रस्टीकरण दिएका थिए । ‘सनम शाक्यको लास सुनसरीको धरानमा भेटिएको थियो, तर मुचुल्का मोरङमा गरियो । मुख्य दोषीको नाम प्रतिवादीको प्रतिवेदनमा उल्लेख गरिएन । र, पैसाको वार्गेनिङ गरिएको छ । अप्रेसनकै लागि पैसाको बार्गेनिङ गरिएको छ । त्यो कुरा आईजीपी’सापलाई जानकारी थिएन ।

प्रजित र लोहनीको कन्भरसेन सुन्दा कहाँ बोलाएर गोली हान्ने भन्ने मात्रै भेटियो । ५ करोडबाट ३ करोडको प्रस्टै बार्गेनिङ गरिएको थियो’, ती सदस्यले भने, ‘हाई कमाण्डलाई अप्रेसनका लागि पैसा बार्गेनिङ गरेको जानकारी नगराउने, तर सुट गर्ने मात्रै भन्दा पैसा लिएर मारेपछि गुपचुप पार्ने नियत देखियो भनेर उनीहरू छानबिनमा परे ।’  गोरेले एकजना जग्गा व्यवसायी बिचौलियाबाट पैसा बुझ्नु भनेर खबर गरेको भेटियो । त्यसैको आधारमा ती बिचौलिया पनि पक्राउ परेका थिए ।

दिवेश र प्रजितको टोली कसरी छानबिनमा पर्‍यो र अदालतबाट कसरी सफाइ पायो ?

रहस्यको पर्दा नखुलेको ३३ किलो सुनकाण्डः गोरेको फोनदेखि अनुसन्धान र अदालतको गोलचक्करसम्म

समाचार रिपोर्ट तयारकर्ता बरिष्ठ पत्रकार उजिर मगर

अनुसन्धान साँघुरिँदै जाँदा उच्च राजनीतिक वृत्त त्रसित बन्यो । अनुसन्धानका क्रममा छानबिन गर्न जति पात्र पक्राउ परे, प्रत्येक व्यक्तिलाई किन पक्राउ गरियो भन्ने जवाफसहित प्रधानमन्त्री ओली र गृहमन्त्री बादलसँग ब्रिफिङ हुन्थ्यो । छानबिन हुँदै गर्दा ओली र बादल निकै उत्साहित थिए । त्यहीबेला नेकपा ९माओवादी धार०बाट गृहमन्त्री बनेका बादललाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हटाउँछन् भन्ने हल्ला चल्यो । पार्टीभित्रैबाट ओली घेरामा परेका थिए । त्यसको प्रभाव यो या त्यो अर्थमा छानबिन समितिमा पनि परेको थियो ।

छानबिन समितिको ४५ दिन सकिएर थप ३० दिनको म्याद पनि सकिन लाग्यो । छानबिन गर्दै जाँदा विमल पोद्दार पक्राउ परे । उनको व्यापारिक साझेदारी दीपक मलहोत्रासँग थियो ।

कालिकास्थानको अपार्टमेन्ट लगायतमा मलहोत्राको व्यापारिक साझेदार पोद्दार भएको फेला पर्‍यो । त्यतिबेला पूर्व अर्थमन्त्री हाल नेकपा ९माओवादी–केन्द्र०का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करबारे ‘साना माछा र ठूला माछा’को सन्दर्भ ल्याएका थिए ।

पोद्दार पक्राउपछि मलहोत्रा पनि छानबिनको घेरामा परेका थिए । उनलाई समितिले बोलाएर बयान लिने वा पक्राउ गर्ने भन्नेबारे छलफल हुँदै थियो । त्यहीबेला अर्का सुन व्यापारी राजेन्द्र शाक्य पक्राउ परेपछि राजनीतिक तहमा हलचल मच्चियो । यसको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब समितिमाथि आउन थाल्यो । बुझ्दा मलहोत्राको पहुँच नभएका ठूला नेता कोही पनि बाँकी देखिएनन् ।

‘थप गरिएको ३० दिने म्याद नजिकिँदै थियो । अब थप हुन सम्भावना देखिएन । र, बाँकी अनुसन्धान गर्न नपाएर केही सुझावसहित प्रतिवेदन बुझायौं’, छानबिनमा संलग्न ती सदस्यले भने, ‘न प्रतिवेदन सार्वजनिक गरियो, न कसैमाथि थप अनुसन्धान गरेर कारवाही गर्ने काम गरियो, अहिले त्यही प्रवृत्ति दोहोरिएको छ ।’

अनुसन्धानमा ४५ जना पक्राउ परे । एक जनाले अनुसन्धानकै क्रममा आत्महत्या गरे । ४ जना धरौटीमा छुटे । ३९ जनामध्ये ३ जना भारतीय थिए । त्यसमध्ये ३१ जना फरार रहे । कुल ७५ जनालाई सुनको संगठित तस्करी गरेको भनी प्रतिवादी बनाइएको थियो । सुनको मुख्य व्यवस्थापन गर्नेमा एमके अग्रवाल, भुजुङ गुरुङसहित थिए ।

छानबिन अध्ययनमा ३७ सय ९९ दशमलव ५५९ ग्राम सुन भित्रिएको तथ्य समितिले फेला पार्‍यो । समितिले ५ वर्षअघिको मूल्य अनुसार १७ अर्ब १ करोड, ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ बराबर मूल्य हुन आउने भनेर प्रतिवेदन बुझाएको थियो ।

पछिल्लोपटक ६० केजी सुन प्रकरणलाई लिएर असोजमा जाँचबुझ आयोग गठन गर्ने सर्वदलीय सहमति भएको छ । छानबिन समिति र आयोग गठनपछि आउने प्रतिवेदन सार्वजनिक र कार्यान्वयन अहिलेसम्म भएका छैनन् । अब बन्ने छानबिन आयोगको पनि इतिहास दोहोरिने वा साँच्चिकै छानबिन हुने अबको व्यवहारले प्रस्ट्याउने छ ।

बहुचर्चित ३३ किलो सुनकाण्डको रहस्य

मितिः १७ फागुन २०७४ ।​
स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं ।​
समयः मध्याह्न ।

सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै भन्यो, ‘हेलो, म गोरे बोलेको । एउटा मान्छे इन्डियनले मारिदियो । यसको ९शव० व्यवस्थापन गर्नुपर्‍यो ।’

अपराध अनुसन्धान विभागका प्रमुख थिए, तत्कालीन एसएसपी दिवश लोहनी ९पछि एआईजीबाट अवकाशप्राप्त० । विभागमा हल्लाखल्ला भयो । उताबाट गोरेले शवदेखि घटनास्थलको फोटोरभिडियो समेत पठाइसकेको थियो । गोरेले पठाएका सन्देशहरू बालकृष्णले लोहनीलाई देखाए ।
घटनाबारे यकिन भएपछि टोली खटिने कुरा भयो । लोहनीले तत्कालीन डीएसपी प्रजित केसीको नेतृत्वमा टोली गइदिए हुन्थ्यो भन्ने मनसाय प्रकट गरे ।

खासमा जानुपर्ने थियो, ज्यानसम्बन्धी मुद्दा हेर्ने एक नम्बर पिलरको इन्चार्ज रविन कार्की । तर, उपत्यकाबाहिरको केसमा अपराधीसँग ‘नेगोसिएसन’का लागि उपयुक्त पात्र केसी हुने लोहनीको तर्क थियो ।

प्रजित ९हाल एसपी, भक्तपुर परिसर प्रमुख० गुन्डागर्दी नियन्त्रण पिलरको इन्चार्ज थिए ।

उनी अपराधीसँग ‘नेगोसिएसन’ कसरी गर्ने भन्ने विषयमा अमेरिकाबाट लामै तालिम प्राप्त गरेका कमान्डर हुन् । विज्ञता प्रयोग गर्नका लागि लोहनीको ‘च्वाइस’मा उनी परेका थिए ।

तत्कालीन आईजीपी प्रकाश अर्याल बिदा बसिसकेका थिए । बमबहादुर भण्डारी निमित्त प्रहरी प्रमुख थिए । लोहनीले चेनअफ कमान्डअनुसार भण्डारीसँग अनुमति लिए ।

डीएसपी प्रजित सई बालकृष्ण र २ जवानलाई लिएर एउटा गाडीमा साँझ ६ बजे उर्लाबारीतिर लागे ।

प्रहरीसँग दोहोरो कुरा गर्दै भारत छिरे गोरे

‘हामी हिँड्यौं, एकजना डीएसपी’साप हुनुहुन्छ, ढुक्क हुनुस्’, बालकृष्णले गोरेलाई भने । गोरेले ‘कहाँ आइपुग्नुभयो रु’ भनेर बालकृष्णलाई तारन्तार फोन गरिरह्यो । बालकृष्णले गोरेलाई ‘डील’ गर्न सकेनन् ।

‘गोरेसँगबाट जसरी पनि शव बुझ्नु थियो । शव बेपत्ता भए केस ढिसमिस हुन्छ भनेर प्रजित’सापले चलाखीपूर्ण तबरले ‘नेगोसिएसन’ गर्न थाल्नुभयो,’ टोलीका एक सदस्यले लोकान्तरसँग भने ।

उनका अनुसार प्रजितले गोरेलाई शव व्यवस्थापन गरेर सहयोग गरिदिने भनेर ‘नेगोसिएसन’ गर्दै थिए । गोरेले आफूनिकट अर्का प्रहरी अधिकृतसँग पनि नियमित सम्पर्क गरिरहेको रहेछ ।

‘मलाई सहयोग गर्न डीएसपी प्रजित केसी आउँदैछन्,’ भनेर गोरेले आफूनिकट प्रहरी अधिकृतसँग सूचना आदान–प्रदान गरेछ ।

ती अधिकृतले भनेछन्, ‘तँलाई प्रजित केसीले सहयोग गर्छ जस्तो लाग्छ रु तेरो ज्यानै लिन सक्छ, त्यहाँबाट भागिहाल ।’

यो कुरा गोरेले पछि प्रहरीसँगको बयानमा पनि स्वीकारेका छन् । ‘प्रजितले सहयोग गर्दैन भनेर मलाई अर्को प्रहरी अधिकृतले भनेका हुन् । त्यही भएर इन्डियातिर भागेको हुँ,’ बयानका क्रममा गोरेले भनेका छन् ।

गोरेले शुरूमा उर्लाबारी बोलाएको थियो । प्रहरी टोलीले निर्वाण होटल छेउको चारकोशे झाडीमा भेट्ने कुरा गरेको थियो । पछि उसले भानु चोकमा बोलायो । रातको करीब २ बजेतिर एकजना मान्छे गाडीमा सरर आयो । गाडीबाट झरेर चोकमा उभियो ।

‘गोरे खोइ रु’, प्रजितले सोधे ।

‘दाइ त इन्डिया गइसक्नुभयो’, गाडी चलाएर आएको व्यक्तिले जवाफ दियो ।

प्रजितको टोलीलाई एउटै चिन्ता थियो, शव चारकोसे झाडीमा फ्याँके वा कोशीमा बगाए ।

प्रजितले सोधे, ‘लास खोइ रु’

‘गाडीमा छ ।’

‘दाइ ९गोरे०लाई फोन लगाऊ ।’

फोन लागेन । प्रजितले फेरि अह्राए, ‘भाउजू ९गोरेको श्रीमती०सँग भारतको नम्बर माग ।’

गोरेकी श्रीमतीले भारतको नम्बर दिइन् । तत्कालै त्यो नम्बर केसीले लोहनीलाई पठाए ।

घटना भएको ठाउँ भानुचोक नभएकाले उनले शव हेरेनन्, हेरेको भए त्यही मुचुल्का उठाउनुपर्ने बाध्यता हुन्थ्यो । सबै इटहरीतर्फ लागे ।

यता लोहनीले गोरेको टेलिफोन ‘ट्रेस’ गरिसकेका थिए । गोरे कोलकत्ता पुगेको थाहा भयो । उनीहरूलाई लागेछ, अब गोरे कोलकत्ताबाट अन्तर्राष्ट्रिय उडानमार्फत तेस्रो मुलुक जाँदैछ ।

बिहान ४ बजेतिर इटहरी पुगेर एउटा होटलमा बसे । शव भएको गाडीलाई पार्किङमा राखेर माथि झ्यालबाट हेर्दै एकछिन आराम गरे ।

त्यतिबेलासम्म विराटनगर, धरान, इटहरी सबै कमान्डमा खबर गरिसकेका थिए, प्रजितले । सहयोगका लागि ‘अलर्ट टीम’ तयारी अवस्थामा थियो ।

शव राखेको गाडीका चालकको माध्यमबाट अन्य दुईजनालाई इटहरीमै फेला पारियो । उनीहरूले रुँदै भने, ‘गोरेले हामीलाई बेस्सरी यातना दियो ।’

त्यसपछि गाडीको डिक्की खोल्दा सनम शाक्यको शव फेला पर्‍यो । यातना दिन प्रयोग गरिएको करेन्टको तार सबै गाडीमै फेला पर्‍यो । विराटनगरका एसपी अरुण जिसीसहितको टीमले शवको मुचुल्का उठायो ।

त्यतिबेला गोरे आफैं नेपाल आओस् भन्ने सोचेर उसको नाम नराखी मुचुल्का प्रतिवेदन बुझाएको अनुसन्धानमा संलग्न एक अधिकारी दाबी गर्छन् ।

‘गिरफ्तारीमा परेका तीन जनाले गोरेलाई पोल्छन् । त्यसलाई गोप्य राखेर उसलाई स्वदेश बोलाउन सकिन्छ भन्ने निष्कर्षका आधारमा गोरेको नाम उल्लेख नगरी मुचुल्का प्रतिवेदन बुझाइएको थियो,’ ती अनुसन्धान अधिकारीले भने ।

गोरे र ‘३३ किलो’ सुनको कथा

सनम हत्यामा संलग्न मुख्य नाइके गोरे नै हो भन्ने जानकारी पक्राउ परेका तीन जनाबाट भइसकेको थियो । आखिर गोरे को थियो त रु पहिले पनि उसको वास्तविक नाम थाहा नभएर सीआईबीले एउटा अनुसन्धान थाती राखेको रहेछ । पक्राउ परेकाहरूले सुन हराएपछि आफूहरूलाई यातना दिइएको र त्यही क्रममा सनम शाक्यको हत्या भएको बयान दिए ।

गोरेको नाम पछि थाहा भयो, चुडामणि उप्रेती । सबै छानबिन हुँदै जाँदा ३३ किलो सुन हराएको भन्ने बयान आयो । एयरपोर्टबाट पास भएको सुन अनामनगरबाट हराएको बयान उनीहरूले दिए ।

हराएको भनिएको सुन कहाँ गयो अहिलेसम्म कुनै अत्तोपत्तो छैन । बरु यो ३३ किलो सुन काण्डका रूपमा चर्चित छ । सुनकै कारण सनमको हत्या भएको अनुसन्धानमा फेला परेपछि पहिलो चरणको अनुसन्धानमा संलग्न अपराध अनुसन्धान विभागकै टोली छानबिनको घेरामा पर्‍यो ।

‘सनमका हत्यारा र सुन तस्कर गोरे उर्फ चुडामणि उप्रेतीलाई भगाएको, पैसा बार्गेनिङ गरेको’ भनेर प्रजितमाथि नै छानबिन थालियो ।

तर, प्रजितले छानबिन समितिलाई दिएको बयानमा उक्त आरोप खण्डन गरेका छन् ।

‘मुख्य दोषीसम्म पुग्नकै लागि नेगोसिएसन गर्ने, फकाउने रणनीतिका लागि विभागीय प्रमुख लोहनी र तत्कालीन निमित्त प्रहरी प्रमुख भण्डारीसँग पनि अनुमति लिइएको उहाँको बयान छ,’ एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

‘गोरेलाई फकाएर सहयोग गर्छौं भन्ने, पैसाको बार्गेनिङ गर्ने, उनीहरू ठूलो संख्यामा रहेछन् र खतरा आइपर्‍यो भने सुट गर्ने आदेश समेत टोलीलाई थियो,’ टोलीका एक सदस्यले लोकान्तरसँग भने ।

छानबिनदेखि अदालतसम्म

छानबिनका आधारमा हेर्दा ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७४ माघ ८ गते बाहिरिएको थियो ।

त्यहीबेला सुन बेपत्ता भएपछि गोरेले भरिया सनम शाक्यको हत्या गरे । एकजना एयरपोर्टमै दुर्घटनामा पारी मारिए भने अर्का एकजनाले हिरासतमै आत्महत्या गरे ।

गोरेलाई इन्टरपोलको सहयोगमा २०७५ जेठ ८ गते भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।

प्रहरीमाथि नै अनुसन्धान गर्नुपर्ने भएपछि सह–सचिव ईश्वरी पौडेल, तत्कालीन एसएसपी वसन्त लामा, डीएसपी सुदीप पाठक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहितको छानबिन समिति बनेको थियो ।

छानबिनका क्रममा प्रजितले अपरेसनमा जाँदा विभागीय प्रमुखसँग भएको कुराकानी र आदेशको फोन रेकर्ड नै उपलब्ध गराए । तर बाहिर पैसाका लागि बार्गेनिङ गरेको, सल्लाहमै भगाएको भन्ने कुरा छ्यापछ्याप्ती भइसकेको थियो ।

त्यसैको आधारमा छानबिन समितिले लोहनी, केसी, सञ्जेल, गोविन्द निरौला र परशुराम खत्रीलाई आरोपित गर्‍यो ।

प्रजित २२ दिन विराटनगरस्थित प्रहरी हिरासतमा बसी पुर्पक्षका लागि कारागार चलान भए । पाँच महिना कारागार बसाइपछि उच्च अदालत विराटनगरले उनलाई सफाइ दियो ।

छानबिन समितिले आरोपित गरेका कसैमाथि पनि आरोप पुष्टि भएन । प्रजितको टीमले प्रमाणसहित पक्राउ गरेकाहरू भने अहिले कैद भुक्तान गरिरहेका छन् । समितिद्वारा आरोपित सबैले सफाइ पाइसकेका छन् ।

३३ किलो सुनबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत समितिले ठूलै काम गरेको जस्तो कुरा सुनाएछन् । प्रहरीहरूलाई पनि कारबाहीको दायरामा लिनुपर्छ भनेर ओलीले त्यतिबेला निर्देशन दिएका थिए ।

गोरेसहितका अभियुक्तहरूले आफूले गरेको अपराधको सजाय भोगिरहेका छन् । केही निर्दोष सावित भएकाहरू आफ्नो पुरानै दैनिकीमा फर्किएका छन्, तर ३३ किलो सुन अझै रहस्यकै गर्भमा छ । कसले चोर्‍यो, कहाँ पुर्‍याइयो, त्यसको कुनै सुराक समेत उपलब्ध छैन ।  लोकान्तरमा प्रकाशित बरिष्ठ पत्रकार उजिर मगरले लेख्नुभएको रिपोर्टबाट लिइएको हो ।