सरकार र मधेसी मोर्चा बीच तीन बुदे सहमती

स्थानीय चुनाव दुई चरणमा गर्ने सहमति

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मधेसी मोर्चाबीचको वार्ताले बैशाख ३१ गतेको लागि घोषित स्थानीय निर्वाचन दुई चरणमा गर्ने सहमति गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका अनुसार पहिलो चरणको चुनाव बैशाख ३१ मै हुनेछ भने दोस्रो चरणको चुनावमा जेठमा हुनेछ । तर, मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तय गर्नेछ ।

कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार पहिलो चरणमा बैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने सहमति भएको  जानकारी दिए । उनका अनुसार सरकार र मोर्चाबीच जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सहमति भएको छ ।  दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन हुँनेछ ।

स्थानीय निकाय थप गर्ने बिषय भने उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा बनेको स्थानीय तह पुर्नर्संरचना अध्ययन समितिको प्रतिवेदनको आधारमा टुंगो लगाइने सहमति भएको छ ।

गृहमन्त्री बिमलेन्द्र निधीले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सहमति भएको भन्दै भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मोर्चासँगको सहमतिलाई अघि बढाउने प्रतिक्रिया दिए । ‘भोलिको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन परिमार्जनसहित फास्ट ट्र्याकबाट पारित गर्ने बिषयमा निर्णय लिन्छ’, उनले भने,‘लगत्तै मोर्चा नेताहरुसँग बसेर सहमतिमा हस्ताक्षर गर्ने तयारी छ ।’