वुटवल-तानसेन सडक खण्डमा बिहिबार बिहान ३ बजे पहिरो खसेपछि बाटो अवरुद्ध

 

१९ असोज, बुटवल/ राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान र सिद्धबाबाको बिचमा ठूलो ढुंगा सहित बिहिबार बिहान ३ बजे पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । दोभान प्रहरी चौकी देखि ५ सय मिटर अगाडि राजमार्ग बन्द हुनेगरी ठूलो पहिरो खसेको छ । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन सुरु गर्न नसकिएको ट्राफिक प्रहरीले बताएको छ ।   

 

सडकमा ठूला ठूला ढुंगा सहितको पहिरो खसेको छ ।  सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने–आउने यात्रु ,सवारीसाधन बाटोमै अलपत्र परेका छन् । एक सातादेखि नियमति यातायात सञ्चालन नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । दोभानदेखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ । यही क्षेत्रमा केही दिनअघि कार र ट्रक पुरिने गरी पहिरो खसेको थियो । मंगलबार मात्र ४ जना यात्रु घाईते भएका थिए ।