सिन्धुलीको फिक्कलमा जीप दुर्घटना, ४ जनाको मुत्यू , ७ जना घाइते

२० कात्तिक,सिन्धुली/  सिन्धुलीको फिक्कल गाउँपालिका–४ टर्किवेशीमा बुलेरो जीप दुर्घटना हुँदा  ४ जनाको मुत्यू भएको छ भने ७ जना घाइते भएका छन् । आइतबार राति करिब नौं बजेतिर भएको उक्त दुर्घटनामा फिक्कल–४ का अमरबहादुर दर्लामी, रामप्रसाद बराल, जीतबहादुर मगर र नरबहादुर बलम्पाखीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनाका घाइते छविराम बलम्पाखी मगर, बीरमान रोक्का मगर, मिठु मगर, मैना आले मगर, लोकबहादुर क्याप्छाकी मगरर लीलबहादुर मगरको स्थानीय शुभजीवन अस्पताल खूर्कोेटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते एकजनालाई भने थप उपचारका लागि काठमाडौंस्थित बीएण्डबी अस्पताल लगिएको  छ ।

खुर्कोटबाट खाङसाङ वेशीतर्फ जाँदै गरेको बा ७ च ३६९५  नम्बर जीप उकोलो चड्ने क्रममा सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विनोद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार शव पोष्टमाडमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । जीपका चालक फिक्कल–३ का यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रण लिएको छ ।