बर्दियामा मतदाता रिझाउन उम्मेदवार घरदैलोमा व्यस्त..

२६ कार्तिक,बर्दिया/ आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा बर्दियामा निर्वाचनको माहोल गरमा-गरम हुँदै गएको छ । यतिबेला चोकदेखि चियापसलसम्म निर्वाचनकै चर्चा र अडकलबाजी चल्छ भने उम्मेदवारहरू मतदाता रिझाउन गाउँगाउँ पसेका छन् । 

उम्मेदवारहरू नाराबाजी र सभाभन्दा पनि गाउँगाउँ पुगेर कार्यकर्ता भेला र प्रशिक्षण लगायतका कार्यक्रममा व्यस्त देखिन्छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले क्षेत्रगत रूपमा संयुक्त कार्यकर्ता भेला र प्रशिक्षण दिइरहेको छ । उम्मेदवारी दिएकै दोस्रो दिनदेखि नेपाली कांग्रेसले पनि ठाउँठाउँमा कार्यकर्ता भेला गर्दै निर्वाचन केन्द्रित कार्यक्रम थालेको छ ।

एमाले उपाध्यक्ष तथा पूर्वप्रधान तथा गृहमन्त्री वामदेव गौतम गाउँ-गाउँमा कार्यकर्ता भेला र प्रशिक्षणमा दौडिरहेका छन् । गौतम बर्दिया–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

वाम गठबन्धनलाई जिताउने भन्दै एमाले र माओवादी केन्द्रका भ्रातृ संगठनहरू संयुक्त रूपमा भेला बैठकमा जुटेका छन् । कांग्रेसको भ्रातृ संगठन पनि चुनावी गतिविधिमा निकै सक्रिय देखिएको छ । आ–आफना उम्मेदवारको पक्षमा माहोल सिर्जना गर्न कार्यकर्ताले उम्मेदवारबारे सामग्री धमाधम सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।

पार्टीहरूले महिला, सुकुम्बासी, मुक्त कमैयाहरूको भेला गराएर चुनावी माहोल आफनो पक्षमा पर्ने कामलाई प्राथमिकतामा राखेका छन् ।
यसपटकको निर्वाचन निकै रोचक मानिएको छ । सक्षम र प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धामा छन् । वाम गठबन्धनले चुनावी माहोललाई झनै तरंगित गरेको छ ।

वामगठबन्धनका उम्मेदवार गौतम र नेपाली कांग्रेसका जिल्ला सभापति तथा वर्तमान सिँचाइमन्त्री सञ्जयकुमार गौतमबीच स्पर्धा हुँदै छ । यस क्षेत्रमा दुवै गौतम निकै प्रभावशाली मानिन्छन् । यस क्षेत्रलाई वाम गठबन्धनले आफनो पकड क्षेत्र मान्दै आएको छ भने यसपाली वाम पकड क्षेत्रलाई भत्काएरै छाड्ने दाउमा कांग्रेस लागेको छ ।

जिल्लाको २ नम्बर क्षेत्रमा पनि चुनावी सरगर्मी निकै बढेको छ । दुई मन्त्री चुनावी मैदानमा ओर्लिएपछि यहाँको चुनावी माहोल निकै तातेको हो । प्रतिस्पर्धामा रहेको दुवै उम्मेदवार बहालवाला मन्त्री र थारू समुदायको हुनुले झनै रोचकता थपिएको छ । यस क्षेत्रमा वाम गठबन्धनबाट बिनाविभागीय मन्त्री सन्तकुमार थारू र कांग्रेसबाट भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित उम्मेदवार छन् ।
दुवै थारू उम्मेदवार एकै क्षेत्रबाट उम्मेदवार बने पनि उनीहरूको बसाइ भने बबई र कर्णाली नदीले छुट्ट्याएका छन् । दहित बबई र कर्णालीपारिका हुन् भने थारू वारिका । दहितलाई कर्णाली र बबई नदी वारिका मतदाताको चिन्ता छ भने थारूलाई पारिका मतदाताको । यो क्षेत्रमा थारू समुदायको बाहुल्य रहेकाले कुन थारू उम्मेदवारले बाजी मार्ने हो, सबैमा चासो छ ।