निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या आरोपी ५ जना सार्वजनिक, मुख्य अभियुक्त फरार

२८ कात्तिक, काठमाडौं / प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँचजना अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।

 मंगलबार पत्रकार सम्मेलन आयोजना गरी गोली हान्ने नुवाकोट पञ्चकन्या गाउँपालिकाका राजीव स्याङ्तान, हतियार व्यवस्था गर्ने पर्साका शिवजी महतो, बिहारका मुकेशकुमार पाण्डेलगायतलाई सार्वजनिक गरिएको हो । त्यस्तै मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरीका सन्तोष गुरुङ, सहयोगी प्रकाश बूढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।  

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार समिरमानसिंह बस्नेत सहित मनोज पुन, लोप्साङ लामा, ग‌ंगा लिङ्देन, श्यामबहादुर गुम्बे, अम्मरबहादुर लामा, रोशन बुढाथोकी र अजय थापा अझै फरार छन् । पुनले घटनाको नेतृत्व लिएका थिए भने गुम्बे र लामा नेपाली सेनाका भगौडा सिपाही हुन् ।

पक्राउ परेकाहरुमाथि स‌ंगठित अपराध ऐनअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ६० दिनको म्याद दिएको छ । उनीहरुलाई अहिले महानगरीय नगर प्रहरी कार्यालय प्रदर्शनीमार्गमा राखिएको छ ।

असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ । टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी, महानगरीय अपराध महाशाखाका एसएसपी , तीन डिएसपी र एक ईन्स्पेक्टर छन् ।

। २३ असोजको मध्यदिनमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली प्रहार भयो । दुई राउण्ड गोली लागेका उनलाई अस्पताल त पुर्‍याइयो तर, मृत्यु भइसकेको थियो ।

 

यसरी मारिए गौचन

सदाझैं गौचन त्यो दिन पनि शान्तिनगरस्थित आफ्नो घरबाट बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडीबाट महासंघ कार्यालय आउँदै थिए । उनको साथमा थिए, चालक रामकुमार खत्री ।

खरिबोट चोक नजिक दुई जना युवा उनलाई कुरेर बसेका थिए । गौचन सवार गाडी त्यहाँ पुग्ने वित्तिकै २२ वषर्ीय प्रकाश बुढाथोकीले ढुंगा प्रहार गरे । गाडीको अगाडीको सिसामा ढुंगा हानेका उनी भागे ।

गौचन हत्याकाण्डको अनुसन्धान समितिका प्रमुख डीआईजी गणेश केसीका अनुसार उनी त्यहाँ कतिवेला गौचन निस्किन्छन् ? अन्य मान्छेले देखेका छन् कि छैनन् ? भन्ने हेर्न र ढुंगा हान्न नै बसेका थिए ।

ढुंगा लागेपछि गौचन सवार कार रोकियो । प्रहरीका अनुसार गाडी राकिने वित्तिकै २१ वषर्ीय पेशेवर सुटर राजिव स्याङ्ताङले गोली हाने गरे । उनी गाडीको अगाडि गए र ड्याङ … ड्याङ दुई राउण्ड गोली चलाए ।

गोली शिशा छेडेर गौचनको पेटमा लाग्यो । बुढाथोकी र स्याङ्ताङ एकैतर्फ भागे । केहीपर उनीहरुलाई मोटरसाइकल तयार थियो । जुन मोटरसाइकलको व्यवस्थापन गरेका थिए, १८ वर्षीय सन्तोष गुरुङले । उनी पर्साको ठोरी गाउँपालिका-५ का हुन् ।

सीसी टिभी फुटेजमा देखिएअनुसार गोली प्रहारपछि स्याङ्ताङले केहीपर पुगेर माक्स र ज्याकेट फ्याले । त्यस दिन उनले सेतो टिसर्ट लगाएका थिए, सोमबार प्रहरीले पक्राउ गर्दा पनि उनी त्यही टिसर्टमा भेटिए ।उनी नुवाकोटमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । बुढाथोकी भने राजधानीमै ठाउँ परिवर्तन गर्दै लुकिछिपी बस्दै आएका थिए ।

उनीहरुलाई हतियार र मोटरसाइकल व्यवस्थापन गर्ने पर्साका ३५ वर्षीय शिवजी महतो र भारत विहारका २४ वषर्ीय मुकेशकुमार पाण्डे समेत पक्राउ परेका छन् । घटनामा भारतबाट चोरी गरेर साइन मोटरसाइकल ल्याइ नेपाली नम्बर बा ३५ प २४६१ राखेर प्रयोग गरिएको भेटिएको छ ।

घटनामा प्रयोग गरिएको हतियार भने भारतको वेतियाबाट नेपाली रुपैयाँ ६५ हजारमा खरिद गरिएको खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

त्यामा दुई भगौडा आर्मीको पनि संलग्नता

प्रहरीका अनुसार निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याको योजनाकार गुण्डानाइके समिरमान सिंह बस्नेत हुन् । उनलाई मनोज पुनले पनि सहयोग गरेका थिए ।

घटनामा संलग्न भएको अभियोगमा ५ जना पक्राउ परेपनि ८ जना अझै फरार छन् । फरार रहेका मध्ये दुई जना भगौडा आर्मी भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घटनामा संलग्न श्यामबहादुर गुम्बे र काले दाई भनिने अमरबहादुर राणा आर्मीबाट भागेका भगौडा हुन् ।

घटनामा राणा समेत सुटरको रुपमा प्रयोग भएका थिए । गुम्बे समेत घटनामा सहयोगीको भूमिकामा छन् ।

घटनाको नेतृत्व समिरमान सिंह बस्नेतले गरेका अनुसन्धान टोलीका नेतृत्व गरेका डिआइजी गणेश केसीले बताए । बस्नेत काठमाडौंमा रहेर लामो समयदेखि व्यवसायीबाट चन्दा उठाउने, ठेक्कापट्टामा हस्तक्षेप गर्ने र व्यक्ति अपहरण गर्ने लगायतका कार्यमा संलग्न रहँदै आएका थिए ।

उनले मागे जति रकम नदिँदा गौचनको हत्या भएको प्रहरीले जनाएको छ । यद्यपि, कति रकम हो भन्ने खुलेको छैन ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस्नेत भारतमा लुकेर बसेको प्रहरीको आशंका छ । युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न मनोज पनि फरार अभियुक्त हुन् ।

अर्का अभियुक्त लोप्साङले बस्नेत र पुनकै कमाण्डमा रहेर नेपालमा अपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीले बताएको छ ।

घटनामा बोका भनिने गंगा लिङ्देन लिम्बुको संलग्नता समेत खुलेको छ । बस्नेतको पारिवारिक नाताभित्र पर्ने रोशन बुढाथोकी समेत सम्पूर्ण काम फत्ते गर्न प्रयोग भएका थिए । घटना संलग्न अर्का अभियुक्त अजय थापा समेत फरार छन् । उनीहरु यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न थिए ।