गिजाको अप्रेसन गर्दा बिरामीको मृत्यु पछि गुल्मीको रेसुङ्गा अस्पतालमा तनाव

५ पुस,गुल्मी/ गिजाको अप्रेसन गर्दा एक जनाको ज्यान गएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुंगा अस्पतालमा दाँत दुखेर उपचार गर्न आएका बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

मलिका गाउँपालिका –६, अर्जेका शिवलाल अर्याल दाँत दुखेर मंगलबार अस्पताल भर्ना हुनुभएको थियो । अर्यालको गिजामा जमेको पिप अप्रेसन गरेर निकालेपछि ठिक हुने डाक्टरले भनेपछि अप्रेसन गरिएको आफन्तहरुले बताएका छन् ।

गिजाको अप्रेसन पछि होस् नआएको आफन्त बुद्धि गौतमले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘गिजाको अप्रेसनपछि ठिक हुन्छ भनेपछि अपरेसन गरियोे, तर अप्रेसनपछि होस् नै आएन ।’

सामान्य दाँतको उपचार गर्दा बुबाको मृत्यु भएपछि अर्यालका २१ वर्षीय छोरा समेत बेहोस अवस्थामा छन् । डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव उठाएका छैनन् भने अस्पतालमा तनाव सिर्जना भएको छ ।