नेपालमा १ हजार जनामा २ सय ८६ नेपाली गरीबीको रेखा मूनी

५ पुस, काठमाडौं /  सरकारी अध्ययनले साढे ८१ लाख २८.५ प्रतिशत नेपाली नागरिक गरीबीको रेखामुनी रहेको देखाएको छ ।

नयाँ विधी अनुसार गरिएको सर्वेक्षणले प्रति हजार मानिसमा २८६ नेपाली गरीबीको रेखामूनी रहेको देखाएको छ । यस आधारमा कुल २ करोड ८६ लाखमा लगभग ८१ लाख ५१ हजार मानिस गरीब छन् ।  

यसअघि केन्द्रीय तथ्यांक विभागले गरीबीको दर २१.८ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । भूकम्प र नाकाबन्दीपछि बढेर २५ प्रतिशत पुगेको अनुमान थियो ।

तर, अहिले अवलम्बन गरिएको नयाँ विधीमा स्वास्थ्य, शिक्षा र आम्दानीलाई मात्र लिएको छैन् । स्वास्थ्य सम्बन्धी दुई, शिक्षा सम्बन्धी दुई र जीवन स्तर सम्बन्धी ६ वटा सूचकको आधारमा गरीबीको दर निकालिएको हो ।

‘यहाँ घरको छानो कस्तो भन्ने कुराले पनि महत्व राख्ने रहेछ, त्यसैले घरको छाना र फ्लोरलाई समेत यस्तो सूचकमा हेरिएको छ,’ सन् २००६ देखि सन् २०१४ सम्मको तथ्यांकलाई गणनामा लिइएको छ ।अध्येता तथा एमपीआई विधी विकास गर्ने मध्येकी एक डा. सबिना अल्किरे र जेम्स फोस्टरले विकास गरेको यो गणना विधि सन् २०१० देखि नै प्रयोगमा छ । नेपालमा भने पहिलो पटक भएको यो विधीको प्रयोग गरेर अल्किरे र केन्द्रीय तथ्यांक बिभागका महानिर्देशक सुमनराज अर्यालले अध्ययन गरेका हुन् ।

यस विधीले निकाल्ने सूचक दिगो विकास लक्ष्य (एसडीजी गोल)मा समेत प्रयोग गरिन्छ । सन् २०३० मा विश्वभरबाट गरीबी अन्त्य गर्ने लक्ष्य राखिएको छ भने नेपाल पनि सो अवधिमा विकासित मुलुकमा प्रवेश गर्ने तयारीमा रहेको छ । नेपालका १२ हजार घरधुरी र ५४ हजार मानिसहरु गणनामा लिइएको थियो ।

यो विधीमा पोषण, शिशु मृत्युदर, उमेरको आधारमा विद्यालय जाने बालबालिका, विद्यालयमा उनीहरुको उपस्थिति, खाना पकाउने उर्जा स्रोत, सरसफाई, खानेपानीकेा उपलब्धता, विद्युतीकरण, छानो तथा फ्लोर र सम्पत्ती लगायतका सूचकलाई लिइएको छ ।

नेपालीहरुको सरसफाई, सम्पत्ति र खाना पकाउने उर्जा सम्बन्धी सूचकमा सबैभन्दा धेरै प्रगति भएको छ ।

९ वर्ष मुनीमा जनसंख्या सबैभन्दा गरीब  

उमेरका आधारमा हेर्ने हो भने ९ वर्षसम्मका बालबालिकामा गरीबीको दर उच्च देखिएको छ । ४१ प्रतिशत बालबालिकामा बहुआयामिक गरीबी देखिन्छ । त्यसपछि ५७ वर्षमाथिका मानिसहरु गरीबीको सूचकमा अगाडी छन् ।

९ वर्षसम्मकाको एमपीआई सूचक ०.१९४ छ भने ५७ वर्षमाथिकाको यो सूचक ०.१२० रहेको छ ।

प्रदेश २ र ६ मा गरीबी दर उच्च

संघीयतामा जान लागेको नेपालको लागि पनि यो तथ्यांकले भावी दिनमा नीति निर्मातालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । सात वटा प्रदेश मध्ये ६ र २ मा धेरै गरीबी छ ।

 

  • प्रदेश १ मा १९.६७,
  • प्रदेश २ मा ४७.८९ प्रतिशत 
  • प्रदेश ३ मा १२.२४ प्रतिशत,
  • प्रदेश ४ मा १४.१९ प्रतिशत,
  • प्रदेश ५ मा २९.९२ प्रतिशत
  • प्रदेश ६ मा ५१.२२ प्रतिशत र
  • र प्रदेश ७ मा ३३.५६ प्रतिशत 

प्रदेश २ र प्रदेश ६ मा कम तौल, विद्यालय जाने अवस्था, शिशु मृत्यु दरले गर्दा बढि गरीबीको दर देखिएको अध्ययनमा उल्लेख छ ।

८ वर्षमा आधाले घट्यो गरीबी

तथ्यांक लिइएको ८ वर्षमा नेपालको गरीबी भने आधाले घटेको छ । सन् २००६ मा यही विधि अनुसार हेर्दा ६५ प्रतिशत मानिस गरीबीको रेखामुनी रहेकोमा सन् २०१० मा ४२ प्रतिशत र सन् २०१४ मा २८.५ प्रतिशतमा गरीबी दर सिमित भएको हो ।