त्रिभुव बिश्वबिद्यालय लगायत बिभिन्न शैक्षिक संस्थाहरुको ४ हजार नक्कली सर्टिफिकेट,१५ सय बैंक स्टेटमेन्ट,४ सय ड्राईभिंग लाइसेन्स र १५० थान पुलिस रिपोर्ट नक्कली बनाई बिभिन्न ब्यक्तीलाई दिने सक्कली गिरोह पक्राउ,अनुसन्धान जारी

२८ चैत, काठमाडौं/ नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउने कारोबारमा सक्रिय गिरोहलाई बुधबार काठमाण्डौंमा प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले सर्टिफिकेट, लाइसेन्स, बैंक स्टेटमेन्ट, पुलिस रिपोर्ट, जन्मदर्ता, मृत्युदर्ता जस्ता कागजात नक्कली बनाउने सल्यान घर भइ काठमाडौं नेपाल टार बस्ने बल बहादुर राउत सहित ३ जनालाई पक्राउ गरेको छ।

राउतले बनाएको नक्कली पुलिस रिपोर्ट र एसएलसीको शैक्षिक प्रमाणपत्र लिएर त्रिपुरेश्वर स्थित नेपाल कन्सुलर विभागमा प्रमाणीकरणका लागि पुगेका गुल्मीका खुमानन्द थापाको माध्यमबाट प्रहरी राउतसम्म पुगेको जनाएको छ ।

चैत २७ गते कन्सुलर विभागमा पुगेका थापाको एसएलसीको प्रमाणपत्रमा पहिले नै कन्सुर विभागको छाप लगाई दस्तखत समेत गरेको देखिएपछि प्रमाणपत्र नक्कली भएको खुलेको थियो । अनुसन्धानका क्रममा थापालाई चितवनका अर्जुन अधिकारीले नक्कली सर्टिफिकेट बनाउन सहयोग गरेको तथ्य फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले थापा र अधिकारीलाई पनि पक्राउ गरेको छ ।अधिकारीले नक्कली सर्टिफिकेट बनाउन बलबहादुर महतलाई दिने गरेका थिए । महतले ४ वर्षदेखि आफ्नो कोठाबाटै शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट, लाइसेन्स, जन्मदर्ता, मृत्युदर्ता, नाता प्रमाणितजस्ता कागजात, पुलिस रिपोर्ट बनाउनुका साथै विभिन्न सरकारी कार्यालयको छाप नक्कली बनाउने गरेको प्रहरीले फेला पारेको छ ।
उनले ट्रान्सक्रिप्ट, सवारी चालक अनुमतिपत्र लगायतमा प्रयोग हुने होलोग्राम स्टिकर पनि भारतीय मूलको व्यक्तिको सहयोगमा झिकाएर प्रयोग गर्ने गरेका थिए । 

हालसम्म महतले ४ हजार प्रति नक्कली सर्टिफिकेट, १५ सय थान नक्कली बैंक स्टेटमेन्ट, ४ सय थान लाइसेन्स, १५० थान पुलिस रिपोर्ट बनाएको प्रहरीसमक्ष बताएका छन् । उनले सर्टिफिकेटको १५ सय देखि ५ हजार, बैंक स्टेटमेन्टको १५ सय देखि २५ सय, लाइसेन्सको १ हजारदेखि २ हजार प्रहरी रिपोर्टको ५ सय देखि १ हजारसम्म र जन्मदर्ता, मृत्युदर्ताजस्ता कागजातको १५ सयसम्म लिने गरेका थिए ।
तर ग्राहकलाई उनी समक्ष ल्याउने मध्यस्थकर्ताले ४ लाखसम्म लिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले राउतको कोठाबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न कलेजको छाप, होलोग्राह स्टिकर, उच्च माध्यमिक शिक्षा परिषदको छाप र होलोग्राह स्टिकर, विभिन्न सरकारी कार्यालयको छाप, नक्कली लाइसेन्स लगायतका कागजात र कम्प्युटरहरु बरामद गरेको छ ।

मुलुकी ऐन कीर्ते कागजको १२ नम्बर अनुसार सरकारी अड्डाको छाप वा सरकारी कागज कीर्ते गर्नेलाई १ वर्षसम्म कैद सजायँ हुने प्रावधान रहेको छ ।