सुन तस्करी र हत्या काण्ड:  पूर्व डिआइजी गोविन्द निरौला, एसपी खनाल र सई सञ्जेलमाथि  मुद्दा,  एसएसपी श्याम खत्री र डिएसपी सञ्जय राउत फरार…….

Big Set of Gold bars. Close up Image

१३ बैशाख, काठमाडौं/ सुन तस्करीमा प्रत्यक्ष मिलेमतो देखिएपछि प्रहरी उपरीक्षक एसपी विकासराज खनाल र सई बालकृष्ण सञ्जेलमाथि मुद्दा चलाउने तयारी भएको छ । मंगलबार राती प्रक्राउ परेका एसपी खनाल र सई सञ्जेललाई मुद्दा चलाउन बुधबार छानबिन समितिले जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।

३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा संलग्न भएको पाइएपछि दुवैलाई मुद्दा चलाउन विराटनगर पठाइएको समितिले जानकारी दिएको छ । विमानस्थलबाट हुने सुन तस्करीमा उनीहरूले प्रत्यक्ष रूपमा सघाएको छानबिन समितिको निष्कर्ष रहेको छ ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान, अपहरण र संगठित अपराध मुद्दा चल्नेछ । प्रहरीले छानबिनका लागि नियन्त्रणमा लिएको सई गजेन्द्र रावलले भने तस्करीमा सघाएको प्रमाण भेटिएको छैन । उनलाई अझै पनि २ नम्बर गणमा नै राखिएको छ ।
सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेतीलाई एसपी खनाल र सई सञ्जेलले सघाएको समितिको ठहर छ । खनाल दुई वर्षअघि विमानस्थलमा कार्यरत रहँदा तस्करीमा सघाएका थिए ।

सञ्जेलले सनम शाक्य हत्या घटनामा उप्रेतीलाई जोगाउन सहयोग गरेका थिए । उप्रेतीसँग सई रावलको पनि पटक–पटक फोन सम्पर्क देखिएको थियो । तर, सहयोग गरेको प्रमाण भेटिएको छैन । सुन तस्करीको सुराकी दिने भएकाले उप्रेतीसँग आफ्नो फोनमा कुरा हुने रावलले बताएका छन् ।

एसएसपी र डिएसपी फरार…..!

सोही काण्डमा बयान दिँदै गर्दा भागेका डिएसपी सञ्जय राउतलाई छानबिन समितिले फरारको सूचीमा राखेर प्रक्राउ पुर्जी जारी गरेको छ । यस्तै, बयानकै लागि नआएका एसएसपी श्याम खत्रीलाई पनि फरारको सूचीमा राखिएको छ । डिएसपी राउत बयानका क्रममा गृह मन्त्रालयमा गएकामा मन्त्रालयबाटै भागेका थिए ।

आफू पक्राउ पर्ने संकेत पाएपछि उनी शौचालय जाने भनेर भागेका थिए । त्यस्तै, डेढ वर्षअघिको साढे ३३ किलो सुन तस्करी प्रकरणमा पनि पक्राउ परेका एसएसपी खत्री बयान दिनै गएका छैनन् । अघिल्लो मुद्दामा सामान्य तारेखमा छुटेका उनी दुई सातादेखि बिदामा बसेका छन् ।

पक्राउ पर्ने डरले उनी बयानमा नगएका स्रोत बताउँछ । पूर्वडिआइजी गोविन्द निरौलालाई समेत मोरङ प्रहरीले अदालतबाट म्याद थप गरी मुद्दा प्रक्रिया अघि बढाइसकेको छ । गत १८ चैतमा सुन तस्कर गिरोहमा आबद्ध भएका मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि सेटिङ हुँदै आएको सुन तस्करीको पर्दाफास भएको हो ।

विमानस्थलमा एयरलाइन्सका कर्मचारी तथा प्रहरीलाई सेटिङ मिलाएर सो समूहले विगत पाँच वर्षदेखि सुन तस्करी गर्दै आएको थियो । घटनामा संलग्न २४ जना पक्राउ परिसकेका छन् । शाक्यको अपहरण र हत्या अभियोगमा पक्राउ परेका प्रहरी अधिकारीविरुद्ध समेत मुद्दा चलाउन लागिएको छ । जनता टाइम्स अनलाइनमा समाचार छ ।