पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचार आरोपमा १० वर्ष र छोरीलाई सात वर्ष जेल सजाय

Photo: Google

२२ असार/पाकिस्तानको भ्रष्टाचारविरोधी अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम नवाजलाई दोषी ठहर गरेको छ। अदालतले सरफिलाई १० वर्ष र छोरी नवाजलाई सात वर्षको जेल सजाय सुनाएको छ।

अदालतले मरियम नवाज माथि २० लाख पाउण्ड -करिब दुई करोड ८० लाख नेपाली रुपैयाँ० जरिमाना गरेको छ। सजायको फैसलापछि मरियम नवाज चुनावका लागिसमेत अयोग्य भएकी छन्। पाकिस्तानमा जुलाई २५ मा चुनाव हुँदैछ। मरियम लाहोरको सिट एनए १२७ बाट चुनाव लड्दै थिइन्।

अदालतले मरियम नवाजका श्रीमान क्याप्टेन सफदरलाई पनि एक वर्षको जेल सजाय सुनाएको छ साथै एवेन फिल्ड अपार्टमेन्ट नियन्त्रणको आदेश पनि अदालतले दिएको छ। पाकिस्तानको लोकायुक्तको कार्यालय नेसनल एकाउन्टिविलिटी बोर्डका आयुक्त सरदार मुजफ्फरले पत्रकारसँग कुरा गर्दै भनेका छन् कि अदालतले आफ्नो फैसलामा केन्द्रीय सरकारलाई एवेन फिल्ड नियन्त्रण गर्न आदेश दिएको छ।

उक्त अपार्टमेन्ट लण्डनमा नवाज परिवारको संपत्तिका रूपमा रहेको मानिन्छ, यसैलाई लिएर भ्रष्टाचारको यो मुद्दा चलिरहेको थियो। इस्लामावादको भ्रष्टाचार विरोधी अदालतका न्यायाधीश महमूद बसिरले साढे नौ महिनासम्म यस मुद्दाको सुनुवाइ गरेका थिए। यस मुद्दामा नवाज सरिफ, उनकी छोरी मरियम जवाज, हुसैन नवाज, हसन नवाज र क्याप्टेन सफदर अभियुक्त छन्।

अदालतले हसन नवाज र हुसैन नवाजलाई पहिल्यै फरार घोषणा गरेको छ। नवाज सरिफले यस मुद्दाको फैसला सात दिनसम्म पर सार्नका लागि निवेदन दर्ता गरेका थिए, जसमा भनिएको थियो कि श्रीमती बिरामी भएका कारण उनी तुरुन्त पाकिस्तान फर्किन सक्दैनन्। सरिफ अहिले लण्डनमा रहेका छन्।