राष्ट्रिय खेलकुद परिषद्का सम्पूर्ण कार्यालय बन्द

१५ असार, नेपालगञ्ज/ राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव स्व. राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गत सम्पूर्ण कार्यालय आज सोमबार बन्द गरिएको छ ।
स्व. सिंहको शोक सभामा राखेपअन्तर्गत केन्द्रीय, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति सोमबार बन्द गर्ने जानकारी मातहतमा शुक्रबार नै गराइएको हो ।

सो अवसरमा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंह प्रशासक र खेलाडीका रुपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

काठमाण्डौंको त्रिपुरेश्वर स्थित राखेप हातामा शुक्रबार आयोजित शोक सभामा सदस्य–सचिव सिलवाल सहित वरिष्ठ अधिकृत कमल खनाल, प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, सुटिंगका प्रमुख प्रशिक्षक उपेन्द्र थापा लगायत अन्य कर्मचारीहरुले स्व. सिंहको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

सिंहको गत शुक्रबार राती छाउनी स्थित निवासमा निधन भएको थियो । राखेपका सातौं सदस्य–सचिव रुपमा सिंहले २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण……

त्यसैगरि राष्ट्रिय खेलकुद परिषद्ले आफू मातहतमा कार्यरत विभिन्न निकायका कर्मचारीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

प्रदान गरिएका सामाग्रीमा पीपीई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, सेनिटाइजर, चस्मा र पन्जा रहेका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी उच्च सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन् ।