डोटीमा बस दुर्घटना:३ जनाको मृत्यु ३२ जना घाइते

Photo: File

२८ साउन, दिपायल/ डोटीको पूर्वीचौकी गाउँपालिका–वडा नं १ फुलौट नजिक खिरसैनमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट आएका ब्यक्तीहरुलाई लिएर मंगलबार राती कैलालीको धनगढीबाट  अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस फुलौट नजिक खिरसैनमा बुधवार बिहान करिब ५:३० वजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
बस सडकबाट ३० मिटर तल खसेको छ । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिनुभएको छ ।