बैतडीको खोडपे नजिकै यात्रु बस दुर्घटना: ९ जनाको मृत्यु २७ जना घाइते

२८ कार्तिक, नेपालगञ्ज/ बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पे नजिकै बिहीबार राति बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

बिहिबार साँझ दार्चुला जिल्लाको गन्ना भन्ने ठाउँबाट कञ्चनपुर जिल्लाको महेन्द्रनगर तर्फ आइरहेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक बिहीबार राति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उक्त दुर्घटनामा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा बैतडीको दोगडाकेदार गाउँ पालिका वडा नं ६ का प्रहरी जवान रण बहादुर चन्द र अन्य नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको सनाखत भएको छ भने अन्यको सनाखत गर्ने काम भईरहेको प्रहरीले जनाएको छ।
उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ८ की १५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको छ । घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।