नमुना: भुमिसुधार तथा मालपोतमा “पिटि क्याच क्रपसन” नियन्त्रणको प्रयास

७ माघ,नेपालगञ्ज/ नेपालका ७७ जिल्ला मध्य बांके जिल्लाको नेपालगञ्ज स्थित भुमिसुधार तथा मालपोत कार्यालयबाट पिटि क्याच क्रपसन न्यूनीकरणका लागि नमुना प्रयास थालिएको छ ।
जिल्ला भुमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको सहभागीतामा सेवाग्राहीको बिभिन्न कामहरु छिटो र प्रकियागत गरिदिए बापत सेवा ग्राहीबाट मनपरी असुल गर्ने (पिटि क्याच क्रपसन) कार्य भईरहेको अवस्थामा बांकेको नेपालगञ्जमा त्यसलाई रोक्न नमुना प्रयास गरिएको छ ।

भुमिसुधार तथा मालपोतमा भ्रष्टाचार भईरहने अडडाको रुपमा गन्हाई रहनु र त्यहां इमान्दारपूर्वक काम गर्न खोज्ने ब्यक्तीलाई समेत “खाए पनि नखाए पनि बाघको मुख रातै” भन्ने नेपाली उखान झै मालपोतमा काम गर्ने सबै घुस खान्छन भन्ने सोचाई समाजमा परेकाले यसलाई अन्तय गर्न पनि मालपोत कार्यालयमा नमुना योग्य नयां प्रयासहरुको थालनी गरिएको छ ।

सुःशासनका लागि जनस्तरमा ब्यबहारिक रुपमै जनसेबी प्रशासन र भ्रष्टाचार न्यूनीकरण गर्न दृढ इच्छा शक्ती बोकेको पाइएका ब्यक्ती मध्यका बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले अन्य सम्वन्धीत निकाय तथा ब्यक्तीहरुको सहकार्यमा नेपालगञ्ज स्थित मालपोत कार्यालयमा नमुना योग्य सुधारको प्रयासको थालनी गरिएको हो ।

भुमिसुधार तथा मालपोत कार्यालय बांकेमा दैनिक सरदर २०० वटा कित्ता जग्गाको राजिनामा पास हुने गरेको पाइएकोमा १ करोड भन्दा माथी मुल्य पर्ने जग्गाको राजीनामा पास ५ बजे पछी हुने गरेको घटना अध्ययन तथ्यांकले देखाएको छ ।

त्यसै गरि एउटा जग्गाको राजीनामा पासमा बिचौलिया मार्फत सेवाग्राहीबाट कम्तीमा ५ हजार देखी माथी असुल गर्ने गरिएकोमा दिनमा सरदर २ सय कित्ता जग्गा पास भएको अवस्थामा सेवाग्राहीले दैनिक १० लाख घुस खुवाउने गरेका थिए ।

भुमिसुधार तथा मालपोत कार्यालयको एउटा राजीनामा पास फांटमा मात्र दैनिक १० लाख घुस बिचौलियालाई ढाल बनाएर मालपोतका कर्मचारीले सुरक्षितरुपमा घुस उठाउदै आएकोमा यसको अन्त्य गर्नका लागि बांके प्रशासनले सबैको सहयोगमा सुधारको प्रयास गरेको हो ।

मालपोतमा राजीनामा पासको नाममा मात्र होइन, रोक्का फुक्का भिडाउने, बिभिन्न समयको निर्णय,परिपत्र हेर्ने तामिली फांट, राजश्व फांट, कम्प्युटर अध्यावधी लगातका काममा छिटो छरितोको नाममा बिचौलीया मार्फत असुली धन्दा मौलाएको जनगुनासो बढेको थियो ।

मालपोतमा पिटि क्याच भ्रष्टाचार नियन्त्रणका लागि मालपोतका कर्मचारीले मुख्य रक्षकको रुपमा प्रयोग गरिएका बिचौलियालाई मालपोत कार्यालयमा प्रबेश निशेध, नियन्त्रण, निगरानी देखी कडा कार्बाहीको समेत योजना बनाएर प्रशासन अगाढी बढेको छ ।

मालपोतमा बिचौलिया गएपछी छिटो गरिदिने सेवाग्राही आफै गए ढिलो गरिदिने मालपोत कर्मचारीको पनि निगरानी राख्ने ब्यवस्था सोमबारबाट सुरुवात गरिएको छ ।

त्यसै गरि सेवा ग्राहीको काम ब्यवस्थित गर्न कानुनी मान्यता प्राप्त ब्यक्ती जस्तो लेखनदासहरुलाई मालपोत कार्यालय बाहिर बाटै सेवाग्राहीले सेवा लिन सक्ने तर मालपोतमा कर्मचारीसंग सेटिंगका लागि प्रबेशमा  निशेधको निति अवलम्बन गरिएको छ ।

त्यसका लागि केही समयको लागि आवश्यक पारिश्रमिकमा केही ब्यक्तीहरु र इमान्दार कर्मचारीहरुलाई अत्याधुनिक प्रबिधि सहित परिचालित गरिएको छ ।

मालपोत कार्यालयमा सेवाग्राहीले दुख र झन्झट नहोस भन्नको लागि हाललाई कम्तीमा १० जना थप जनशक्तीलाई मालपोतको कम्पाउण्ड भित्र हेल्प डेस्क खडा गरेर सेवाग्राहीलाई सहयोग गर्ने बातावरण मिलाइएको छ ।

त्यसै गरि सेवाग्राहीले मालपोत कार्यालयमा सेवा लिनु अघि डिजिटल प्रबिधिको टोकन सिस्टम लागु गरिएको छ । जसको आधारमा सेवाग्राहीको काम छिटो छरितो पहिल्यको अनुपातमा भए/नभएको समय-समयमा अनुगमन र सिधै उजुरीको पनि ब्यवस्था गरिएको छ ।

स्थानिय प्रशासन मार्फत मालपोतमा गरिएको सुधारको प्रयासमा केही ब्यक्तीले अप्रत्यक्ष असहयोग गरेको  वा गर्ने ब्यक्तीलाई पनि भ्रष्टाचार नियन्त्रणको बर्खिलापमा निगरानी गरी आवश्यक कानुनी दायरामा ल्याउने गरि योजना अगाढी बढाइएको बांके प्रशासनले जनाएको छ ।

भुमिसुधार तथा मालपोतमा “पिटि क्याच क्रपसन” नियन्त्रण अभियान अन्तरगत बिगत २ दशक देखी नेपालगञ्जमै अडडा जमाएर बसेका भुमिसुधार तथा मालपोत कार्यालय बांकेका प्रमुख प्रेम दौल्याल १ दिनको प्रहरी हिरासतको अनुभव सहित अन्यत्र सरुवा गरिएको छ ।

मालपोतमा इमान्दारलाई पुरुस्कृत र भ्रष्टाचारीलाई बिना मोलाहिजा दण्डितको निति अख्तियार गरीने बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताउनु भएको छ ।

कुरुम्वांगले बांकेका सरकारी अडडाहरुमा आफुहरुले दिएको घुस र घटना सहित आफुलाई तथ्य सहित जानकारी दिएमा जानकारी दिने ब्यक्तीको पहिचान गोप्य राखी  कार्बाही  गरिने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।