एन्फा प्रेसिडेन्ट लिग–२०७७: स्टार सिटी र धादिङको विजयी


७ चैत, नेपालगञ्ज / कैलालीको स्टार सिटी युवा क्लब र बागमति प्रदेशको धादिङ समाज धादिङले  एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन ।
शनिबार नेपालगञ्ज रंगशालामा स्टार सिटीले धम्बोझीलाई ३–१ ले पराजित गरेको छ ।

यसैगरी अर्को खेलमा धादिङले प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले पराजित गरेको छ ।
जितसँगै लगातार तिन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । स्टारले लगातार तिन खेल्दै ९ अंक जोडन सफल भएको छ ।

शनिबार स्टारको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । स्टारका लागि रुप बहादुर लामाले ४१औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६औं मिनेटमा गोल गरेका थिए ।

धम्बोझीको तर्फबाट बिसन गुरुङले ६१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा स्टार सिटीका रुप बहादुर लामा म्यान अफ द म्याच घोषित भए । उनलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले पुरस्कृत गरेका थिए ।

जितपछि कैलालीका प्रशिक्षक ललित चन्दले च्याम्पियन बन्ने हौसला बढदै गएको बताए । उनले भने,‘अहिले नै च्याम्पियन बन्न सहज त छैन । तर हामीले आज लिगको बलियो टोलीलाई हराएको छौं । हाम्रो बेन्च खेलाडी पनि बलियो भएको आज प्रमाणित भएको छ । यसले टिम थप बलियो भएको छ ।’

नयाँ र पुराना खेलाडीको समन्वय मिल्दै गएकोले टोली स्तर थप सुधार हुँदै गएको प्रशिक्षक चन्दले बताए ।
धम्बोझीका प्रशिक्षक रबिन्द्र श्रेष्ठ सुरुआतमा गोलकिपरको गल्तीको कारण खेल बिग्रिएको बताए । उनले भने,‘सुरुआतमै हामीले ‘सिल्ली’ गोलको सामना गर्न प¥यो । त्यसले टिमको रिदम बिग्रियो । हामीले लगातार तिन खेल गर्मीमा खेलेको छौं । त्यसले पनि खेलमा असर गरेको छ ।’
आफनो टोलीको तुलनामा बिपक्षीले शनिबार राम्रो खेलेको प्रशिक्षक रबिन्द्रले प्रतिक्रिया ।
शनिबार भएको दोस्रो खेलमा धादिङको जितमा शिशिर लेखीले २५औं मिनेट, विजय भुजेलले ६८औं र कप्तान रबि भण्डारीले ८७औं मिनेटमा गोल गरेका थिए । खेलमा धादिङका शिशिर लेखी म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले पुरस्कृत गरेका थिए ।


चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।