दुर्घटनामा बांके खजुराका यादब सहित ३ जनाको मृत्यु

१६ असार, नेपालगञ्ज/  बाँके, खजुरा गाउँपालिका वडानम्बर २ एलगाउँस्थित बिहीबार दिउँसो खेत जोत्नेक्रममा भे२ त १७५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरले च्यापेर चालक सोही गाउँपालिका वडानम्बर ५ खजुरा बस्ने २५ वर्षीय देबेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको खजुरा प्रहरीले जनाएको छ ।

त्यसैगरि बिहिबार नै कैलाली, धनगढी उपमहानगरपालिका वडानम्बर ३ बोराडाँडी चोकमा सवारी दुर्घटनामा परी सु.प.प्र. ०१(००१ ह ४६२९ नम्बरको अटोका चालक दार्चुला लेकम गाउँपालिका वडानम्बर ३ घर भई सोही गाउँपालिका वडानम्बर ४ उत्तरबेहडी डेरा गरी बस्ने ५० वर्षीय लक्ष्मण सिंह बोहराको बिहीबार बिहान मृत्यु भएको छ ।
अटोले बिग्रीएको सु.प.प्र. ०१-००१ ह ४६३२ नम्बरको अटोलाई तानेर ग्यारेजतर्फ लैजाने क्रममा अनियन्त्रित भई भएको दुर्घटनामा गम्भीर घाइते भएका लक्ष्मणको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बिग्रिएको अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ राधा कृष्ण मन्दिर नजिक सडकमा ना.५१ प ७३५९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३-००४ प १५९९ नम्बरकोमोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा बागमती प्रदेश ०३-००४ प १५९९ नम्बरको मोटरसाइकलका चालक सोही उपमहानगरपालिका-१८ सिम्ले बस्ने २५ वर्षीय बिशाल थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सन्चो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना. ५१ प ७३५९ नम्बरको मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने २३ वर्षीय सुमन थापा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय लक्ष्मण आचार्यको उपचार भईरहेको प्रहरीले जनाएको छ ।